लागूऔषधसहित ९ जना पक्राउ



काठमाडौं, (नेस)

लागूऔषधविरुद्धको अभियानलाई तीव्र बनाएको लागूऔषध नियन्त्रण ब्युरोले एक हप्ताको अवधिमा विभिन्न लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ ।
सो अवधिमा ब्युरोले एम्फेटामाइन २ सय २२ ग्राम र २ हजार ४ सय ७० एम्पुल नियन्त्रित लागूऔषध नियन्त्रणमा लिएको छ ।

गोरखा अजिरकोटका चिजकुमार गुरुङलाई टोखाबाट २ सय २२ ग्राम एम्फेटामाइनसहित पक्राउ गरेको छ । लामो समयदेखि उक्त लागूऔषधको कारोबारमा संलग्न रहेका गुरुङलाई प्रहरीले खोेजीको सुचीमा राखेको थियो ।त्यस्तै रौतहट मौलापुर–१ का दुखाकुमार यादवलाई टेकुबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ४ सय एम्पुल, डाइजेपाम ४ सय एम्पुल, फेनारगन ४ सय एम्पुल बरामद गरेको ब्युरोले जनाएको छ । यादवले लामो समयदेखि लागूऔषधको कारोबारमा संलग्न रहेको सुचना पाएपछि उनको खोजीमा निस्केको प्रहरीले उक्त परिणामको लागूऔषध बरामद गरेको हो ।

त्यसै गरी सुनसरीको इनरुवा बस्ने गोपाल निरौलालाई विभिन्न नियन्त्रित लागूऔषध ३ सय ३५ एम्पुलसहित पक्राउ गरेको छ । ब्युरोले सिन्धुपाल्चोकका मानबहादुर तामाङको साथबाट पनि नियन्त्रित लागूऔषध बरामद गरेको छ ।भारतीय नागरिक गोविन्द पोद्धारसँग मिली लागूऔषधको कारोबार गर्ने सुवास श्रेष्ठको साथबाट पनि ठुलो मात्रामा लागूऔषध र नेपाली रुपियाँसमेत बरामद गरेको छ । प्रहरीले श्रेष्ठलाई लागँऔषध दिने कमला लामालाई समेत पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट नगद ४० हजारसमेत बरामद गरेको छ । राजधानीमा लागूऔषधको कारोबार गर्ने एउटा गिरोह नै पक्राउ गर्न सफल भएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्