एकै परिवारका दुई जनामा कडा रोग



गणेश घिमिरे, इलाम

इलाम माईजोगमाई गाउँपालिका–५ सोयाङ्गका एकै परिवारका दुई जनामा कडा रोग लागेपछि उपचारमा समस्या भएको छ । एकै परिवारका एक जना मृगौला रोगी र अर्का एक जनामा क्यान्सर जस्तो कडा रोगले सताएको छ । रोगले सताएपछि उनीहरूको उपचारमा आर्थिक संकट परेको छ । सोयाङ्गका थलङ्ग लिम्बु परिवारका दुई जनालाई कडा रोगले सताएको हो ।

विगत आठ महिनादेखि घाँटीको क्यान्सरले दलबहादुर थलङ्ग लिम्बु थलिएका छन् भने उनको बुहारी सञ्चरानी थलङ्ग लिम्बु दुईवटै मृगौला फेल भएको छ । अहिले उनीहरूको परिवारलाई उपचारका लागि आर्थिक संकट जुटाउन धेरै कठिन भएको छ । चितवनस्थित क्यान्सर अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराइरहेका ६८ वर्षका दलबहादुर लिम्बुको उपचार गर्न पैसा अभाव भएपछि उनलाई परिवारले घरमै ल्याएका छन् । आर्थिक अभावले उपचार नपाएर घरमै मृत्युश्ययामा छटपटाइरहेका दलबहादुरको बुहारीको भने विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।मृगौलापीडित ५० वर्षीया सञ्चरानीको उपचारका निम्ति हालसम्म १४-१५ लाख खर्च भइसकेको छ भने अब थप उपचारका निम्ति एक रुपियाँ पनि घरबाट निकाल्न सक्ने अवस्था नभएको परिवार बताउँछन् ।

सञ्चरानीलाई पनि अब घरमै ल्याएर राख्नुको विकल्प नभएको उनीहरू बताउँछन् । लाखौं रुपियाँ ऋण लागिसकेको तर निको हुने कुनै छाँटकाँट नदेखिएको परिवारहरू बताउँछन् ।सञ्चरानीको विगत एक वर्षदेखि दुइवटै मृर्गौला फेल भएको छ । उता घाँटीको क्यान्सरको उपचार गराइरहेका दलबहादुरको उपचारमा पनि ६-७ लाख रुपियाँ खर्च भइसकेको परिवारले बताएको छ । घरको एकै परिवारका दुई जना सदस्यमा कडा रोग लागेको आर्थिक अभावले उपचार गर्न नसकेर मृत्युश्ययामा छटपटाइरहेका हुन् ।घरबाहेक अन्य जग्गा–जमिन सबै बेचेर उपचार गरेका लिम्बुको परिवार अहिले आर्थिक संकटमा परेको हो । आर्थिक अवस्था निकै कमजोर भएका लिम्बुको परिवारलाई आर्थिक समस्या परेको र बिरामीहरू उपचार नपाएर मृत्यु पर्खिरहेपछि उनीहरूको उपचारका निम्ति आर्थिक सहयोग जुटाउने हेतुले उनका छिमेकीहरूले आर्थिक सहयोग जुटाउन थालेका छन् । स्थानीय धनहाङ लिम्बु, प्रेम गौतम, सुमन लिम्बु र खगेन लिम्बुले आर्थिक सहयोग जुटाउन थालेका हुन् । दुवै जनाको उपचारका लागि अझै २०-२२ लाख रुपियाँ चाहिने भएपछि आफूहरूले उनीहरूको उपचारमा थप आर्थिक सहयोग पु¥याउन आर्थिक संकलन अभियानमा जुटेको आर्थिक संकलनकर्तामध्येका एक प्रेम गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्