ओलीको प्रतिगामी कदम छिट्टै परास्त हुन्छ : प्रचण्ड



बुद्ध नेपाली,सिन्धुली ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड– नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले ७० बर्षको संघर्षबाट बनेको संविधानको मुल मर्म माथि प्रहार हुने गरी सरकारले प्रतिगामी कदम चालेको बताउनुभएको छ । सिन्धुलीको मरिण गाउपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो बताउनुभएको हो ।

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले समय व्यस्तताका कारण कार्यक्रमको सुरुमै करिब ५ मिनेट सम्बोधन गर्दै भन्नुभयोे, ‘तपाईहरु सबैलाई थाहा छ । धेरै शान्तिपुर्ण जनआन्दोलनको श्रृंखला, सशस्त्र आन्दोलन र जनयुद्धको पनि श्रृंखलाबाट करिब ७० बर्षको संर्घषबाट देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान भनेको छ । अहिले त्यही संविधान र संविधानको मर्म माथि प्रहार हुने गरी प्रतिगामी कदम सरकारले चालेको छ ।’

उहाँले देशका सबै सचेत नागरिक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम विरुद्ध खडा भएकाले छिटै यो प्रतिगामी कदम परास्त हुने र लोकतन्त्र फेरी ट्रयाकमा आउने विश्वास व्यक्त गर्नुभयो । प्रतिगामी कदम विरुद्ध सबै एकजुट भएर विरोधमा उत्रेकाले नेपाली जनताको बलिदानमा बनेको संविधान फेरी ट्रयाकमा आउने उहाँले बताउनुभयो ।

‘प्रतिगमनको बिरोधमा नेपालमा भएका सबै सचेत नेपाली जनता, राम्रो दिमाग भएका सबै बिद्वान बुद्धिजिबी, बिशेषज्ञहरु यो प्रतिगामी कदमका बिरुद्ध खडा भएका छन् ।’ उहाँले भन्नुभयो । सिन्धुली जिल्ला आफैमा परिवर्तन र क्रान्ति उत्पतिको रुपमा परिचित जिल्ला भएको उहाँको भनाई थियो । मरिण गाउपालिकाको नव निर्मित भवन कुल ४ करोड ९९ लाख ९६ हजार ६१९ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।

लिफ्ट सहितको सुविधा सम्पन्न भवन अनक कन्ट्रक्सन कम्पनी प्रालीले २०७५ असार २६ गते सम्झौता गरी २०७७ साल पुस २६ गते निर्माण पुरा गरेको गाँउपाकिाले जनाएको छ । यस अघि भाडाको घरबाट गाउपालिकाको कार्यालय संचालन हुदैआएको थियो । सुविधा सम्पन्न भवन भने पछि जनतालाई छिटो, छरितो र सहज रुपमा सेवा प्रवाह गर्न सकिने मरिण गाउपालिका अध्यक्ष पानीराज बम्जनले बताउनुभयो ।

नयाँ भवन भनेपछि कार्यालयको दैनिक प्रशासनिक कामहरु चुस्तदुरुस्त र व्यवस्थित ढंगमा सम्पादन गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत विनोद पोखरेलले बताउनुभयो । भवनमा गाउपालिकाको सबै शाखाहरुको छुट्टाछुट्टै कोठाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्