धरहरा पुनर्निर्माण फागुन मसान्तसम्म पूरा गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं, (नेस)  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका रुपमा रहेका धरहरा र सिंहदरबारको पुनर्निर्माण आगामी महिनाको अन्त्यसम्ममा पूरा गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ ।प्रधानमन्त्रीले २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएका सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा धरहराको हाल भइरहको पुनर्निर्माण कार्यको निरीक्षणपश्चात् यस्तो निर्देशन दिनुभएको हो ।

‘कोभिड–१९ को महाव्याधिले पुनर्निर्माण कार्यमा पारेको बाधाका बाबजुद अहिलेसम्म भएका प्रगति सन्तोषजनक छन्।’ –प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री ओलीले सिंहदरबारको पुनर्निर्माणका क्रममा पुरातात्विक महत्वका वस्तुलाई यथास्वरुपमै कायम राख्न निर्देशनसमेत दिनुभयो ।मुलुकको प्रमुख प्रशासनिक निकायका रुपमा रहेको सिंहदरबारको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री कार्यालयलाई भूकम्पपश्चात् गरिएको सबलीकरण, कार्यालय प्रयोजनका लागि व्यवस्था गरिएका बैठक कक्ष, प्रतीक्षाकक्षलगायतका संचरचनाहरू, आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्र एवं कार्यालयमा २४सै घण्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणालीबारे अवगत गराउनुभएको थियो ।

सिंहदरबारको प्रमुख आकर्षण एवं विसं २०३० सालमा भएको आगलागीबाट बचेको एकमात्र पश्चिमी संरचना रहेको छ भने त्यसको पूर्व, दक्षिणपूर्व तथा उत्तर पूर्वतर्फका भागमा प्रधानमन्त्री कार्यालय रहने गरेको थियो । प्राधिकरणका केन्द्रीय योजना कार्यान्वयन इकाइका सहनिर्देशक झपरसिंह विश्वकर्माका अनुसार कार्यालयलाई सुरक्षा र सुविधाका दृष्टिले अब्बल हुने गरी प्रबलीकरण गरिएको छ । केन्द्रीय वातानुकूलित प्रणालीका अतिरिक्त आगलागीको समयमा अत्यन्त छिटो अग्नि शमन गर्ने प्रणाली यसमा थपिएका नयाँ विशेषता हुन् ।सिंहदरबारको निरीक्षणपछि प्रधानमन्त्री ओलीले पुनर्निर्माणको अन्तिम चरणमा रहेको धरहरा क्षेत्रको निरीक्षण गर्नुभएको थियो ।पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निर्माणाधीन धरहराका दुई भूमिगत तलामा पार्किङ रहने, त्यहींबाट १०÷१० जना अट्ने क्षमताको लिफ्ट रहने तथा १८औं तलामा धरहरासम्बन्धी डिजिटल प्रस्तुतीकरण कक्ष रहने जानकारी दिनुभयो। हाल २१औं तलाको ढलान सकिएपश्चात २२औं तलासमेतको कार्यगरी त्यहाँ पहिले रहेको महादेवको प्रतिमा पुनस्र्थापना तथा गजुर जडानको कार्य गरिने जानकारी पनि उहाँले दिनुभयो ।

यसबाहेक अहिले पानी सुकेको र निकाससमेत बन्द भएको अवस्थामा रहेको ऐतिहासिक सुन्धारालाई निरन्तर पानी आउने अवस्थामा ल्याई संरक्षण गरिनेछ । यसै गरी यसअघि टक्सारको भवन रहेको स्थानमा मुद्रा तथा सिक्कासम्बन्धी विविध सामग्रीसहितको संग्रहालय बनाउने र भूकम्पले भत्काएको धरहरालाई यथावत् स्वरुमा शिशाले छोपेर एक सजीव भूकम्प संग्रहालयका रुपमा संरक्षण गरिने जानकारी पनि ज्ञवालीले दिनुभयो ।यसअघि मात्र करिब साढे ४ रोपनीमा रहेको धरहरा परिसर अब ४२ रोपनीमा विस्तार हुँदा राजधानीले एक ऐतिहासिक खुल्ला स्थान पाउने पनि उहाँले बताउनुभयो । कार्यक्रमा प्रधानमन्त्रीलाई प्राधिकरणका सहसचिव भरत अर्यालले धरहरा पुनर्निर्माणको प्राविधिक प्रगतिका बारे जानकारी गराउनुभयो ।उहाँका अनुसार धरहरा परिसरको भूमिगत पार्किङस्थलमा ४ सयवटा चारपांग्रे र ७ सयवटा मोटरसाइकल अट्ने भएकोले राजधानीको पार्किङ समस्या धेरैहदसम्म सम्बोधन हुने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्