कोरोना खोपले सुरक्षा निकायलाई देखेन



काठमाडौं, (नेस) ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने सुरक्षा निकायलाई प्राथमिकता दिएर कोरोना संक्रमणविरुद्धको खोप लगाउनुपर्ने आवाज जनस्तरबाट उठे पनि सरकारले भने अहिलेसम्म चासो दिएको छैन ।

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल, जनतासँग हरेक दिन घुलमिल हुने नेपाल प्रहरी र राज्यको समग्र सुरक्षामा खटिने नेपाली सेनालाई सरकारले खोप लगाउन प्राथमिकतामा नराखेको भन्दै सरकारको आलोचना शुरु भएको छ ।सरकारले भारतबाट अनुदानमा आएको १० लाख डोज खोपमध्ये पहिलो चरणमा स्वास्थ्य सेवामा खटिएकाहरुलाई लगाएको थियो भने त्यसपछि विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार र नेपालस्थित विदेशी नियोगमा कार्यरत कर्मचारीलाई उक्त खोप लगाउन शुरु गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाले आफ्नो अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई खोप उपलब्ध गराइदिन पहल गरेको भए पनि अहिलेसम्म सरकारले प्राथमिकतामा राखेको पाइँदैन ।

सरकारले फागुन १ गतेदेखि शुरु गर्ने कोरोनाविरुद्धको खोपमा पनि नेपाल प्रहरी र नेपाली सेनालाई समेटेको छैन । सरकारले स्थानीय जनप्रतिनिधिसहित सशस्त्र प्रहरी बलको राजधानी उपत्यकामा कार्यरत र सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका १२ हजार जनालाई भने उक्त खोप उपलब्ध गराउने भएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले अग्रपंक्तिमा खटिने सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुले फागुन १ गतेबाट बीओपी र राजधानी उपत्यकामा कार्यरतहरुले खोप लगाउने जानकारी दिनुभयो ।संघीय सरकारले नेपाल प्रहरी र नेपाली सेनालाई खोप उपलब्ध नगराए पनि स्थानीय निकायसँग समन्वय गरेर नेपाल प्रहरीका अग्र मोर्चामा खटिएका ३ हजार २ सयभन्दा बढी अधिकृत तथा जवानले खोप लगाएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

नेपाल प्रहरीले आफ्नो संगठनका तर्फबाट अग्र मोर्चामा खटिनेको संख्या ५० हजार रहेको भन्दै तत्कालै उक्त संख्याको खोप आवश्यक रहेको जानकारी सरकारलाई गराएको प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।यता नेपाली सेनाको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेका ४ हजार ९ सय ५७ जनाले कोरोनाको खोप लिइसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।उहाँले सरकारसँग अग्रमोर्चामा खटिने २१ हजार नेपाली सेनाका अधिकृत तथा जवानलाई कोरोनाको खोप आवश्यक रहेको जानकारी गराएको जानकारी दिनुभएको छ नेपाल सरकारलाई भारतबाट १० लाख डोज खोप उपलब्ध गराएको छ भने चीन सरकारले ५ लाख डोज र विश्व स्वास्थ्य संगठनले गरिव राष्ट्रहरुलाई उपलब्ध गराउने २२ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

सरकारले पनि कोरोनाको खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । अहिलेसम्म तीनवटा कम्पनीले नेपालमा उक्त खोप ल्याउन सकिने भन्दै सरकारलाई निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्