पर्साका सामुदायिक विद्यालयमा शौचालयको अवस्था दयनीय



कृष्णउदास खनाल,वीरगन्ज ।

पर्सा जिल्लाका १४ वटै पालिकामा रहेका करिब साढे तीन सय सामुदायिक विद्यालयमा शौचालयको अवस्था दयनीय रहेको छ । कतिपय विद्यालय अहिलेसम्म शौचालयविहीन अवस्थामा छन् भने शौचालय भएका विद्यालयहरूमध्ये ८० प्रतिशतको अवस्था एकदमै दयनीय छ ।

विद्युत् भएका विद्यालयहरूमा पानीट्याङ्कीको व्यवस्था गरिएको र शौचालयमा पानी सहज आपूर्ति हुँदा सरसफाइको अवस्था ठीकै भएपनि ८० प्रतिशत विद्यालयमा विद्युत् नभएको कारण पानीको अभावमा शौचालयको अवस्था दयनीय बनेको हो। ठूलो सङ्ख्यामा विद्यार्थीहरु भएका सामुदायिक विद्यालयमा पानीको उचित व्यवस्था नहुँदा शौचालय दुर्गन्धित र फोहर भएका हुन् ।

बिजुली नभएका विद्यालयहरूमा शौचालयको प्रयोगपछि हात धुन पनि समस्या रहेको विधार्थीहरुको गुनासो छ। शौचालयसँगै धाराको व्यवस्था नभएकोले धेरैजसो विद्यार्थी हात धुनबाट समेत वञ्चित भएका छन् । खानेपानीको धारामा पानी पिउनका लागि भीडभाड हुने गरेको कारण शौचालय प्रयोग गरेका विद्यार्थीहरू लामबद्ध भएर हात धुने अवस्थानभएको विद्यार्थीहरूको भनाइ छ। शौचालय नै नभएको पर्साको जगरनाथपुरको खलउचरीस्थित नेरा आधारभूत विद्यालयमा पनि उस्तै समस्या छ ।

यसैगरी, पर्साको पटेर्वासुगौली गाउँपालिका–३ मा रहेको नेरा आधारभूत विद्यालय सोनवर्षा बैरियामा एउटा मात्र शौचालय छ। चार सय विद्यार्थी अध्ययनरत सो विद्यालयमा रहेको एकमात्र शौचालयको प्रयोग शिक्षकहरूले मात्र गर्दै आएका छन्। विद्यार्थीहरूले शौचालयको प्रयोग गर्न नपाऊन् भनेर शिक्षकहरूले शौचालयमा ताला लगाउने र आफूले मात्र प्रयोग गर्ने गरेको पाइएको छ। अहिले पर्सा जिल्लामा शौचालय भएका विद्यालयहरू बल्ल छात्रामैत्री बनेका छन् तर पानीको अभावमा शौचालय प्रयोग गर्ने लायकको नभएको एकजना छात्राले बताइन् ।

उनले गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा छात्रामैत्री, बालमैत्री शौचालयका साथै सफाइका लागि बजेट विनियोजन गरेको र आफ्नो गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा सुधार गरिने दाबी गर्दै आए पनि व्यवहारमा नदेखिएको बताएकी छन् । शौचालयको समुचित व्यवस्था नभएको कारण महीनावारीको समयमा विद्यालयमा आउन समस्या हुने गरेको उनले बताएकी छन् । सफाइको दुरवस्थाले प्याडको प्रयोग र पुनः प्रयोगमा समस्या हुने भएकोले छात्राहरू सो अवधिमा विद्यालय आउन छाडेको पनि उनले बताइन् ।

नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादवले सामुदायिक विद्यालयहरूमा शौचालयको अवस्था दयनीय भएको स्वीकारे। उहाँले सम्बन्धित गाउँपालिकाले स्तरोन्नतिका लागि प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयहरूमा युनिसेफको सहयोगमा निर्मित विद्यालयहरू मात्र बालमैत्री र सफाइयुक्त शौचालय रहेको र तीबाहेकका विद्यालयहरूमा बालमैत्री शौचालय नभएको बताउनुभयो । युनिसेफका बृजकिशोर पटेलले पर्सा जिल्लाका २७ स्थानमा एवन विद्यालय भवन बनाइएको र सो विद्यालय पूर्ण बालमैत्री भएको बताउनुभयो । विद्यालय भवन जिल्लाका १४ वटा पालिकाहरूमा रहेको र सोबाहेक जिल्लामा रहेका सामुदायिक विद्यालयहरू बालमैत्री नभएको दाबी गर्नुभयो ।

पर्सा जिल्लाको सामुदायिक विद्यालयहरूको दुरवस्था सुधारका लागि सामाजिक संस्था जिल्ला समन्वय समिति (एनजिओसिसी) पर्साले अहिले १० वटा विद्यालयमा शौचालय मर्मतसम्भार गर्दैछ। यसैगरी, नेपाल रेडक्रस, युनिसेफ, युएनहेबिटाटको सहकार्यमा पनि केही विद्यालयमा सफाइ अभियान सञ्चालित छ। तर साढे तीन सय सामुदायिक विद्यालय रहेको जिल्लामा स्थानीय पालिकाहरूले आफू मातहतका विद्यालयहरूको शौचालयलाई अहिलेसम्म मर्मत सम्भार, छात्रामैत्री, बालमैत्री अनि सफाइयुक्त बनाउन सकेका छैनन्। यही कुराबाट पनि जिल्लामा रहेका सामुदायिक विद्यालयहरूको भवन र त्यहाँ हुने शैक्षिक गतिविधिहरूको बारेमा आकलन गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्