उद्योगलाई प्रतिस्पर्धी बनाउन आग्रह



काठमाडौं, (नेस) ।

नेपाल उद्योग परिसंघका पदाधिकारीले मुख्यसचिव शंकरदास वैरागीसँग भेट गरी औद्योगिक विस्तारबाट रोजगारी सिर्जना गर्ने सम्बन्धमा छलफल गरेका छन् । छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले विभिन्न क्षेत्रका उद्योगहरुले नेपालको कुल गार्हस्थ उत्पादनमा पु-याएको योगदानलाई उजागर गर्दै उत्पादनमूलक उद्योगको क्षमता विकास र प्रतिस्पर्धी बनाई स्वदेशमानै रोजगारी सिर्जना गर्न सरकारले सहज वातावरण तयार गर्नुपर्ने बताउनु भएको छ ।

अध्यक्ष मोरले नेपालको युवाशक्ति विदेशमा गएर रोजगारी गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै विदेशमा रहेका युवालाई पनि स्वदेशमानै अवसर प्रदान गर्नको लागि दीर्घकालीन लक्ष्य तय गरी सरकार र निजी क्षेत्र एकैसाथ अगाडि बढ्नुपर्ने धारणा राख्नु भएको थियो । परिसंघको अनुसन्धान इकाईले अध्ययन गरी तयार गरेको नेपालमा उद्योग दर्ताको स्थिति र त्यसबाट भएको रोजगारी सिर्जनाका सम्बन्धमा छलफल भएको थियो । छलफलमा नेपालको अर्थतन्त्रलाई माथि उठाउनको लागि आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भरतर्फ उन्मुख गराउन सरकार र निजी क्षेत्रको सहकार्यलाई जोड दिइएको थियो ।

मुख्यसचिव वैरागीले नेपालमा कृषि क्षेत्रलाई प्रधानमन्त्रीबाट उच्च प्राथमिकतामा राखेको सन्दर्भ उल्लेख गर्दै कृषि क्षेत्रमा निजी क्षेत्रले रोजगारी सिर्जना गर्न सक्ने धारणा राख्नुभयो । हाल सरकारले कृषि क्षेत्रमा पनि वैदेशिक लगानीलाई खुला गरेकोले यसतर्फ निजी क्षेत्रको ध्यान जानुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्