चेल्सी र सिटीको जित



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिगको खेलमा चेल्सी र म्यानचेस्टर सिटीले जितको नतिजा निकालेका छन् ।आइतबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई उसैको घरेलु मैदानमा २–१ गोलअन्तरले हराउँदा सिटीले लिभरपुललाई ४–१ ले पराजित गरेको हो । प्रिमियर लिगमा पछिल्ला चार खेलमा चेल्सीको यो लगातार तेस्रो जित हो ।

घरेलु टोली सेफिल्डलाई हराउन मासन माउन्ट र जर्गिन्होले एक–एक गोल गर्दा सेफिल्डले एक गोल उपहार पाएको थियो । खेलको ४३औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई १–० ले अग्रता दिलाए । उनले टिमो वेर्नरको पासमा गोल गरेका थिए । तर, ५४औं मिनेटमा चेल्सीका एन्टेनियो रुडिगरले आत्मघाती गोल गरेपछि सेफिल्डले खेललाई १–१ गोलको बराबरीमा फर्काउन सफल भएको थियो ।तर, ५८औं मिनेटमा जर्गिन्होले पेनाल्टीको सहयोगमा गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाए । यो जितसँगै चेल्सीले २३ खेलबाट ३९ अंक जोडेको छ । यता पराजित सेफिल्डको ११ अंक छ ।

त्यस्तै, एनफिल्डमा लिभरपुललाई हराउँदा पाहुना टोली सिटीका इल्केए गुन्डोगानले दुई तथा रहिम स्टर्लिङ र फिल फोडेनले समान एक–एक गोल गरेका थिए । लिभरपुलका मोहम्मद सलाहले एक गोल फर्काएका थिए । खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । खेलको ४९औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाएका थिए ।तर, ६३औं मिनेटमा सलाहले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । ७३औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । त्यस्तै, ७६औं मिनेटमा स्टर्लिङले बर्नाडो सिल्भाको पासमा गोल गर्दै सिटीको गोलसंख्या तीन पु¥याए ।खेलको ८३औं मिनेटमा गाब्रियल जेससको पासमा फोडेनले गोल गर्दै लिभरपुललाई ४–१ को लज्जास्पद हार चखाए । यो जितसँगै सिटीको २२ खेलबाट ५० अंक पुगेको छ । पराजित लिभरपुलको भने २३ खेलबाट ४० अंक छ ।

प्रतिक्रिया दिनुहोस्