बन्दीपुरको आकाशमा उड्ने रहर



मिला दरै, तनहुँ ।

कोभिड १९ संक्रमणको कारणले थलिएको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा प्याराग्लाइडिङतर्फ आकर्षण बढ्न थालेको छ । बन्दीपुरको प्याराग्लाइडिङ पर्यटकको रोजाइमा पर्न थालेपछि भीड बढ्न थालेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो । बन्दीपुरमा आन्तरिक पर्यटकहरू बढ्दै गएको र प्याराग्लाइडिङमा रमाउनेको सङ्ख्या पनि वृद्धि हुँदै गएको अध्यक्ष प्रधान बताउनुहुन्छ ।

साहसिक पर्यटकको लागि बन्दीपुरको थानीमाई डाँडाबाट प्याराग्लाइडिङ गरी बन्दीपुरकै वडा नम्बर २ भुमर्सेमा अवतरण गर्ने व्यवस्था गरिएको छ । हाल दैनिक करिब ५० जना पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको समितिले जनाएको छ । समितिका अनुसार पोखराको ब्लु स्काई, बन्दीपुर प्याराग्लाइडिङ लगायतका ४ वटा कम्पनीले पर्यटकहरूलाई प्याराग्लाइडिङ गराउँदै आएका छन् । पोखराको ब्लु स्काइले पर्यटकलाई प्याकेज बनाएर उडाउने गरेको छ । ती कम्पनीहरूले तीन वर्ष अघिदेखि नै कम्पनी दर्ता गरी प्याराग्लाइडिङ थालेको समितिका पँर्वअध्यक्ष बैस गुरुङले जानकारी दिनुभयो ।

विगतका वर्षमा चीन, अमेरिका, फ्रान्स, इटाली, जर्मन लगायतका देशबाट पर्यटक आउने गरेकोमा कोरोनाको असरले गर्दा आन्तरिक पर्यटक मात्रै आकाशमा रमाउने गरेको गुरुङ बताउनुहुन्छ । सोलुखुम्बुका पाइलट तेम्बा शेर्पा चार पटकसम्म प्याराग्लाइडिङ गरेको बताउनुहुन्छ ।‘बन्दीपुरको हावाको वेग तटस्थ हुँदा सहज प्याराग्लाइडिङ गर्न सकिन्छ, विगत वर्षमा आएर पनि प्याराग्लाइडिङ गरेको र यहाँको हावाको वेगले आउन मन लाग्ने बनाउँछ, रमाइलो पनि छ,’ शेर्पाले भन्नुभयो । ‘एक नाशको हावा आइरहने भएकोले लामो समयसम्म आकाश बस्न सकिन्छ, साथै, बन्दीपुरको प्राकृतिक रमणीय दृश्यहरू भएकाले प्याराग्लाइडिङको लागि उपयुक्त छ,’ ।
बन्दीपुरको प्याराग्लाइडिङबाट हिमाल, हरियाली डाँडाकाडा सुन्दरबस्ती, टार, नदी खोलाका साथै अन्य रमणीय स्थलहरू देख्न सकिने भएकाले विदेशी पर्यटकको आकर्षण बढेको बन्दीपुर क्याम्पसका सहायक प्रमुख गोवर्धन भट्टराई बताउनुुहुन्छ ।

प्याराग्लाइडिङको आर्कषण बढाउने थानीमाई जाने सडकको स्तरोन्नति गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पँर्णसिंह थापा बताउनुहुन्छ । प्याराग्लाइडिङ स्थलसँगै मिनि ग्रेटवाल निर्माण भइरहेको र साइकल लेन निर्माण कार्य पँरा भएको गाउँपालिकाका अध्यक्ष थापाको भनाइ छ ।बन्दीपुरको आकाशमा उड्नका लागि पहिले बुकिङ गरेर आउँदा सहज हुने पर्यटन विकास समितिका सचिव बसन्त पौडेल बताउनुहुन्छ । बन्दीपुरमा मंसिरको अन्तिम सातादेखि पुस अन्तिम सातासम्म आन्तरिक पर्यटकको आवतजावत बढेको पौडेलले बताउनुभयो । माघ महिना अलि बढी चिसो हुँदा घटे पनि फागुनबाट बन्दीपुर घुम्न उपयुक्त वातावरण बन्ने भएकाले पर्यटक बढ्ने अपेक्षा गरिएको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्