दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीको सक्रियता बढ्यो



रसुवा, (नेस) ।

जिल्ला ट्राफिक कार्यालय रसुवाले सडक दुर्घटना न्यूनीकरण गर्न कारबाही तीव्र पारेको छ ।ट्राफिक प्रमुख चन्द्र घिसिङका अनुसार धेरै समयदेखि सवारी साधनको नवीकरण नगरिएको कतिपय चालकको अनुमतिपत्र नभेटिएको र इजाजतबिना सवारी साधन चलाउनेमाथि कारबाही तीव्र पारिएको हो ।

परीक्षणको क्रममा ३५ जनाको अनुमतिपत्र नपाइएको र २० वटा सवारी साधनले नवीकरण नगरेको भेटिएको थियो । एकपटक सबैलाई कारबाही स्वरुप जरिवाना गरिछोडिएको छ । जरिवाना गरिएका सवारी साधनमध्ये ६ देखि ९ वर्षसम्म नवीकरण नभएका तीन सवारी साधनका धनीलाई छिटो नवीकरण गराउन कबुलियतसमेत गराइएको छ ।

ट्राफिक कार्यालय रसुवाले विशेष परीक्षणअन्तर्गत ५० सवारी साधन कारबाहीमा परेको र जरिवाना २ लाख ५० हजार राजस्व उठेको बताइएको छ । ट्राफिक व्यवस्थापनअन्तर्गत नियम उल्लंघन गर्ने सवारी साधनलाई बढीमा दुई हजारसम्म जरिवाना गर्ने प्रावधान रहेको बताइएको छ । पासाङ ल्हामु राजर्मागमा गुड्ने सवारी साधनमध्ये सबभन्दा बढी मोटरसाइकल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्