शिक्षा क्षेत्रमा अमेरिकी योगदान प्रशंसनीय : कृष्णगोपाल श्रेष्ठ



नेपाल समाचारपत्र, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिका सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताउनुभएको छ ।नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीसँग मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री श्रेष्ठले नेपाल र अमेरिकाबीचको वर्षौंसम्मको सम्बन्ध अझै सुमधुर रहने बताउनुभयो ।‘विशेष गरी शिक्षा विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडीपी) दूर र प्राथमिक शिक्षाको विकासमा अमेरिकी सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको छ।’ –मन्त्री श्रेष्ठले भन्नुभयो ।

विपद्को समय होस् वा कोरोना संक्रमण नियन्त्रण गर्न अमेरिकी सरकारले उपलब्ध गराएको सयवटा भेन्टिलेटर सहयोगले दुई देशको सम्बन्ध अझै सुमधुर बन्न पुगेको उहाँको भनाइ थियो । उहाँले हालै निर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडन र उपराष्ट्रपति कमला ह्यारिसको कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।भेटका क्रममा राजदूत बेरीले अमेरिकी सरकारले बहुपक्षीय ढंगबाट सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘नेपालप्रति अमेरिकी सरकारको कुनै नीति परिवर्तन भएको छैन, सहयोगका कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’ उहाँले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ नियन्त्रणमा थप सहयोग गर्ने बताउनुभयो ।नेपालको प्राथमिकदेखि दूर शिक्षामा गरेको लगानीमा थप सहयोग हुन सक्ने विश्वास व्यक्त गर्दै राजदूत बेरीले अमेरिकामा नयाँ सरकार आए पनि सम्बन्ध विकास र साझेदारीमा कुनै परिवर्तन नहुने स्पष्ट पार्नुभयो ।

सो क्रममा शिक्षा सचिव गोपीनाथ मैनालीले नेपालको शिक्षा अनुसन्धानमा गरेको लगानी महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विद्यालय क्षेत्र सुधार परियोजना, दूर र विद्यालय शिक्षामा अमेरिकी सहयोग नियोग यूएस आईडीले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो ।सचिव मैनालीले लिंकन स्कुलको विषयमा देखिएको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । गृह, परराष्ट्र, अर्थ र शिक्षा मन्त्रालयबीचको समन्वयमा मात्र समस्या समाधान हुने स्पष्ट पार्दै त्यसका लागि शिक्षा मन्त्रालयका तर्फबाट तत्काल प्रक्रिया अघि बढाइने उहाँको भनाइ थियो ।मन्त्री श्रेष्ठले लिंकल स्कुलको विषयमा चासो राख्दै सरकारी तबरबाट समस्या समाधान गर्ने बताउनुभयो । अमेरिकी विकास सहयोग नियोग यूएसआईडीका निर्देशक सेपेड केभ्यानसडले विगत वर्षमा काम गर्न केही अप्ठ्यारो महसुस भएको उल्लेख गर्दै फरक परिस्थितिको कारण अहिले केही सहज हुने अपेक्षा राख्नुभयो ।

उहाँले सन् २०२० देखि २०२२ सम्म ३२ मिलेनियम डलर सहयोग भइरहेको बताउनुभयो । ‘कोभिडका लागि सहयोग गर्नेछौं । नेपालको विकासको अनुदानमा कुनै फरक पर्दैन।’ –उहाँको भनाइ थियो ।उहाँले प्राथमिक र दूर शिक्षामा सहयोग गरिरहेको बताउँदै २०२१–२०२५ सम्म निरन्तर सहयोग गरिरहने बचनबद्धता व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा दुई देशबीचको सहयोग र सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्