अझै हराएन सरकारी कार्यालयको ढिलासुस्ती



सरकारी कार्यालयको ढिलासुस्तीका विषयमा नागरिकस्तरमा गुनासो बढ्दो छ । नागरिकले सरकारी कार्यालयमा सानोभन्दा सानो कामका लागि पनि थुप्रो समय खर्चिनुपरेको अवस्था छ । व्यवस्थापनमा देखिएको कमी–कमजोरी र जनशक्तिको परिचालनमा देखिएको कन्जुस्याइँका कारण सरकारी कार्यालयबाट नागरिक सन्तुष्ट हुन सकेका छैनन् ।

सरकारी कार्यालयमा देखिएको बेथितिका कारण बिचौलियाहरु पनि सलबलाइरहेका छन् । प्रक्रियामा जाँदा धेरै समय र लफडा हुने हुँदा सेवाग्राहीले पनि बिचौलियाकै सहयोग माग्नुपरेको छ । सेवाग्राहीहरुले धेरै समय पर्खनुभन्दा चर्कै शुल्क तिरेर भए पनि आफ्नो काम गराउँदै आएका छन् । बिचौलियाको माध्यमबाट अहिले देशका थुप्रै सरकारी कार्यालयमा काम हुँदै आएको छ । देशका केही सरकारी कार्यालयहरुमा अहिले पनि परम्परागत शैलीबाटै कार्यालय सञ्चालन हुँदै आएको छ । जसका कारण सेवाग्राहीहरु मारमा परेका छन् ।सानो कामका लागि सरकारी कार्यालयले धेरै समय लगाइदिँदा सेवाग्राहीहरु हैरान हुने गरेका छन् । यस्तो अवस्थामा बिचौलियाहरुको हाबी बढ्ने गर्दछ ।

बेलाबखतमा बिचौलियाहरु नियन्त्रणमा आएको समाचार आए पनि धेरैजसो सरकारी कार्यालयमा अहिले पनि बिचौलियाकै दबदबा बढिरहेको छ । तसर्थ, सरकारी कार्यालयमा देखिएका बेथितिको अन्त्य हुन आवश्यक छ । सेवाग्राहीलाई सुविधा दिन सरकारी कार्यालयबाट कन्जुस्याइँ हुनुहुँदैन ।
– भेदकुमार कट्वाल, कर्णाली 

प्रतिक्रिया दिनुहोस्