दक्षिण अफ्रिकाले अक्सफोर्ड–एस्ट्राजेनको खोप रोक्यो



जोहान्नेसबर्ग, (एजेन्सी) ।

कोरोना भाइरसको नयाँ विकसित रूपविरुद्धको प्रयोग परिणाम असन्तोषजनक देखिएका कारण दक्षिण अफ्रिकाले अक्सफोर्ड–एस्ट्राजेनेका खोपको वितरण रोकेको छ । वैज्ञानिकहरूले दक्षिण अफ्रिकाको नयाँ कोभिडका घटनामा यो खोप ९० प्रतिशत असफल रहेको बताएका छन् ।
करिब २ हजार व्यक्तिमा गरिएको एक अध्ययनमा कोभिड–१९ का हल्का लक्षण देखिएकाहरूमा समेत यस खोपको प्रभाव नाम मात्रको देखिएको वैज्ञानिकहरूले बताएका छन् । दक्षिण अफ्रिकाले यस खोपको १० लाख डोज प्राप्त गरेको छ । आगामी सातादेखि सर्वसाधारणलाई यो खोप शुरू गर्ने कार्यक्रम बनाइएको थियो ।आइतबार अनलाइनमार्फत गरिएको पत्रकार सम्मेलनमा दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली खिजेले सरकार कसरी अक्सफोर्ड एस्ट्राजेनेकालाई उत्कृष्ट ढंगले कार्यान्वयन गरिने भन्नेबारे सही सल्लाहको प्रतिक्षामा रहेको जानकारी दिएका छन् । यस खोपको परीक्षण कार्य युनिभर्सिटी अफ दि विटवाटरस्ट्यान्डले गरेको हो । तर, परीक्षण कार्यको गम्भीर पुनरावलोकन गरिन बाँकि नै रहेको छ ।

पत्रकार सम्मेलनकै दौरान उनले आगामी केही साता नै सरकारले जोहन्सन एन्ड जोहन्सन तथा फाइजर कम्पनीले तयार पारेका खोपहरू प्रयोग गर्न लागेको जानकारी पनि दिएका छन् । खोप प्रभावकारिता अध्ययनको नेतृत्व गरेका प्राध्यापक शविर माधीले दुर्भाग्यवश एस्ट्राजेनेकाले राम्ररी काम नगरेकोमा दुःख व्यक्त गरेका छन् । उनले अध्ययनमा भाग लिनेका औसत उमेर ३१ मात्र भएकाले पनि त्यसको खतराका कडा लक्षणहरू मापन गर्न नसकिएको बताएका छन् ।तर, यस खोपको विकासमा अहम् भूमिका निभाउने प्राध्यापक साराह गिल्वर्टले भने अझै पनि यस खोपले कोरोना भाइरसबाट जोगाउन सक्ने दाबी गरेकी छन् ।

साथै, उनले यसै वर्षको उत्तराद्र्धसम्ममा कम्पनीले दक्षिण अफ्रिकामा देखिएको नयाँ प्रकारको भाइरसविरुद्धको ‘५०१.भि२’ वा ‘बि.१.३५१’ नामक नयाँ संस्करणको खोप विकास गरिसक्ने बताएका छन् ।संयुक्त अधिराज्यमा पहिलोपटक नयाँ किसिमका कोरोना भाइरस देखिएको हो । शुरूमा फाइजर–बायो एनटेक खोपले यस भाइरसबाट जोगाउने बताइएको थियो । विश्वभरि नै अहिले कोरोना भाइरस विरुद्धको खोप दिन मानिसहरूको तंछाड–मछाड भइरहेको छ । हरेक देशका सरकारले कोरोना भाइरस महामारीमा अग्रपंक्तिमा बसेर काम गरेकाहरू जस्तै,– स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरूलाई क्रमशः प्राथमिकतामा राख्ने गरेको छ ।

विश्व बन्धुत्व र मानवीयतालाई ध्यानमा राखेर विकसित र सम्पन्न मुलुकहरूले अन्य मुलुकहरूलाई निःशुल्क खोप उपलब्ध गराएर सहयोग गर्ने संस्कृति पनि अहिले प्रचलनमा आइरहेको छ । तैपनि, कुनै पनि औषधि तथा खोप विकास गर्न लामो समयसम्म प्रयोग परीक्षण गरी त्यसको आनुवंशिक प्रभाव परिणामसमेत हेरिने गरेको प्रावधानलाई ध्यानमा राख्दै विशेषज्ञहरू यी खोपहरूको विश्वसनियतामा पूर्णतः ढुक्क हुन अलि समय नै लाग्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्