सुख्खा बन्दरगाहमा कन्टेनर अलपत्र



कृष्णउदास खनाल, वीरगन्ज  ।

वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहबाट कन्टेनर बाहिरिन नसक्दा हाल २ हजार ६३९ कन्टेनर भन्सार यार्डमा थन्किएपछि त्यहाँ अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको छ ।

वीरगन्ज महानगरपालिका–२५ सिर्सियास्थित भारतसँग रेल्वे सञ्जालमा जोडिएको मुलुकको बन्दरगाहमा कोरोना संक्रमणकालदेखि नै कन्टेनर थन्किएको अवस्थामा रहेको सो कार्यालयले बताएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको नेपाल इन्टर मोडल यातायात विकास समितिका अनुसार लकडाउनको समयमा तेस्रो मुलुकबाट सामान लिएर कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट आएका कन्टेनर जाँचपासको अभावमा बाहिरिन नसक्दा त्यहाँ अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको शाखा अधिकृत तर्कराज जोशीले बताउनुभयो ।

अहिले भन्सार यार्डमा थन्किएर रहेका २ हजार ६३९ कन्टेनरमध्ये केही कन्टेनर बाहिरिने प्रक्रियामा रहेका छन् भने अन्य कन्टेनर भन्सार जाँचपास नहुँदा बाहिरिन सकेका छैनन् । एउटा रेलमा ९० वटा कन्टेनर हुने गरेको र अहिले दैनिक तीन ओटा रेल आउने गरेका छन् । पुरानो थन्किए रहेका कन्टेनर बाहिर निस्कन नसक्दा यसको प्रभाव भन्सार यार्डमा पर्न गएको छ । पाँच वर्षका लागि सुक्खा बन्दरगाहको ३३३ करोड रुपियाँमा ठेक्का पाएको ठेकेदार कम्पनी प्रिस्टाइन भ्यालीले लिएको छ ।सो बन्दरगाहमा सामान उठाउने रिचस्टेकर मेसिन चार वटा छन् । हिमालय टर्मिनलले इन्टर मोडललाई दिने भनिएको थप चार वटा रिचस्टेकर मेसिनमध्ये तीन वटा बनिसकेका र एउटा मेसिनको मर्मत सम्भार भइरहेको छ ।

समयमा सो मेसिन नदिँदा कन्टेनर लोड अनलोडमा समस्या परेको छ । दिन प्रतिदिन रेलमार्गमार्फत सुख्खा बन्दरगाहमा आउने कार्गोको संख्या बढदै गइरहेको अवस्थामा पर्याप्त रिचस्टेकर मेसिनको अभावमा कन्टेनर समयमा उठन नसकेपछि यस्तो अवस्था आएको हो । बन्दरगाह सञ्चालक भारतीय कम्पनी प्रिस्टाइन भ्यालीसँग रहेका चार वटा रिचस्टेकरले मात्रै काम गर्ने गरेका कारण रेल्वे ¥याक आए पनि उक्त मेसिनले उद्योगी व्यापारीको मालसामान ट्रकमा लोड अनलोड गर्न छाडेर रेल्वे ¥याकका कन्टेनर खाली गर्नमा प्रयोग गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्