चन्द्रपुरले विराटनगरलाई हरायो



नेपाल समाचारपत्र, काठमाडौं । 

जारी राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको दोस्रो लेगअन्तर्गत आइतबार भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटले जित हात पारेको छ ।सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा चन्द्रपुरले विराटनगर महानगरपालिका मोरङलाई १–० ले हराएको हो । रजनी थोकरे गरेको गोल नै चन्द्रपुरलाई जित दिलाउन पर्याप्त भएको हो ।

पहिलो लेगमा चन्द्रपुर विराटनगरसँग ५–० ले हारेको थियो ।खेल बराबरीमा अग्रसर भइरहेको अवस्थामा रजनीले ७०औं मिनेटमा गोल गरेकी हुन् । उनले सुषमा महर्जनको लामो पासमा सविता रानामगर हुँदै सुनीता भोलानको पासमा गोल गर्न सफल भइन् । यसपछि गोल नहुँदा चन्द्रपुरले तीन अंक थप्दै ७ खेलबाट ६ अंक बनाएको छ ।

विराटनगरको त्यति नै खेलबाट १० अंक छ ।यस्तै, अर्को खेलमा वालिङ नगरपालिका स्याङ्जाले नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध तुल्यायो । वालिङको जितमा क्यामरुनी खेलाडी मेथो एलुड रुथले निर्णायक गोल गरेकी थिइन् । योसँगै वालिङले ११ अंक जोडेर पुलिसलाई पाँचौ स्थानमा झर्न बाध्य तुल्यायो । यसअघि पहिलो लेगमा वालिङसँग १–१ बराबरी खेलेको पुलिसको ८ अंक छ ।

प्रतिक्रिया दिनुहोस्