वेस्ट इन्डिजले ३ सय ९५ रनको लक्ष्य पछ्यायो



लन्डन, (एजेन्सी) ।

वेस्ट इन्डिजले ३ सय ९५ रनको विशाल लक्ष्य पछ्याएर बंगलादेशविरुद्धको पहिलो टेस्ट ३ विकेटले जितेको छ ।कायल मायर्सले नटआउट रहँदै दोहोरो शतक प्रहार गरेपछि वेस्ट इन्डिजले प्रसिद्ध जित हात पा¥यो । बंगलादेशको चटोग्राममा भएको टेस्टको अन्तिम दिन मायर्सले २ सय १० रन र एनक्रुमाह बोनरले ८६ रनको योगदान दिएका हुन् । यो जितसँगै वेस्ट इन्डिजले टेस्ट सिरिजमा १–० को अग्रता लिएको छ ।

मायर्सले डेब्युमै ऐतिहासिक दोहोरो शतक प्रहार गरेका छन् । उनी टेस्ट डेब्युमै दोहोरो शतक प्रहार गर्ने वेस्ट इन्डिजका पहिलो ब्याटसम्यान समेत बने । वेस्ट इन्डिज ३ विकेटको क्षतिमा १ सय १० रनमा थियो । जितको लागि २ सय ८५ रन अझै बनाउनु थियो । मायर्स र बोनरले दुई सेसन बंगलादेशलाई विकेटविहीन बनाएर जितको आधार तयार पारे । उनीहरूले चौथो विकेटका लागि २ सय १६ रनको साझेदारी गरेका थिए । अन्तिम सेसनमा यो साझेदारी तज्जुल इस्लामले तोडेका थिए । इस्लामले बोनरलाई आउट गरेका थिए । यतिबेला वेस्ट इन्डिज २ सय ७५ रनमा थियो ।

१७ रन थप्दा जर्मेन ब्ल्याकवुड (९ रन) लाई नायीम हसनले आउट गरे । यसपछि मायर्सलाई जोशुआ डा सिल्भाले १ सय रनको साझेदारी गर्न सहयोग गरेपछि वेस्ट इन्डिजको जित सम्भव पनि भएको थियो ।जोशुआलाई तज्जुल इस्लामले २० रनमा आउट गरेका थिए । २ रन जोडेपछि केमार रोच पनि शून्यमै आउट भए । तर, यतिबेलासम्म वेस्टइन्डिजले स्कोर बराबरी गरिसकेको थियो । मायर्सले यसपछि १ रन जोडेर वेस्ट इन्डिजलाई ऐतिहासिक जित दिलाए । यो टेस्ट इतिहासमा पाँचौं उच्चतम लक्ष्य पछ्याएको क्षण हो ।यसअघि, वेस्ट इन्डिजले २००३ मा अस्टे«लियाविरुद्ध ४ सय १८ रनको सर्वाधिक उच्चतम लक्ष्य पछ्याएको थियो । दक्षिण अफ्रिकाले २००८ मा अस्टे«लियाविरुद्ध पछ्याएको ४ सय १४ रन दोस्रो उच्चतम लक्ष्य थियो । यस्तै, अस्टे«लियाले १९४८ मा इंग्ल्यान्डविरुद्ध पाएको ४ सय ४ रन तेस्रो उच्चतम लक्ष्य थियो । चौथो स्थानमा भारतले १९७६ मा वेस्ट इन्डिजविरुद्ध ४ सय ३ रन पछ्याएको लक्ष्य थियो ।

प्रतिक्रिया दिनुहोस्