खोप लगाउन स्वास्थ्यकर्मीकै आनाकानी



रोशन पराजुली  ,हेटौंडा ।

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) विरूद्ध खोप प्रथम चरणमा ८० दशमलव तीन प्रतिशतले मात्र लगाएका छन् । जबकि, प्रदेशमा देशको कुल संक्रमणको करिब ५५ प्रतिशत संक्रमण छ ।

११ दिनसम्म प्रदेशका १३ वटै जिल्लामा कोरोनाविरूद्ध खोप अभियान सञ्चालन गरिए पनि लक्षित वर्गका १९ दशमलव ७ प्रतिशतले खोप लगाएका छैनन् । यो तथ्यांकले फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरू गरिएको खोप लिन स्वास्थ्यकर्मी नै आनाकानी गरिरहेको देखाउँछ ।खोपबारे सामाजिकसञ्जालमा विभिन्न भ्रम देखेपछि खोप लगाउने घटेका स्वास्थ्यकर्मीको ठम्याइँ छ । खोप लिदा कसैलाई टाउको दुख्ने, हल्का ज्वरो आउने लक्षण देखिए पनि यो आफैं ठीक हुदै जाने स्वास्थ्यकर्मी बताउछन् ।

प्रथम चरणमा लक्षित वर्गका ७८ हजार ८ सय ३७ मध्ये ६३ हजार तीनसय ८ जना उक्त खोपबाट लाभान्वित भएको प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेश स्वास्थ्य निर्देशक रमेश अधिकारीले जानकारी दिनुभयो । यससगै प्रदेशमा प्रथम चरणको खोप अभियान सकिएको उहाले बताउनुभयो । माघ १४ गते देशभर खोप लगाउने कार्य शुरू भएको हो ।
फोहोरमैला व्यबस्थापनमा खटिने फोहोर संकलक तथा चालक, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक, खोपकेन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयम्सेवक, शवव्यबस्थापनमा प्रत्यक्ष खटिने व्यक्ति, स्वास्थ्य स्वयम्सेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा खटिने सुरक्षाकर्मी तथा कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति र हेरचाहमा खटिने व्यक्ति, कारागारका कैदी तथा सुरक्षाकर्मी र स्वास्थ्य संस्थामा कार्यरत् कर्मचारीलाई प्रथम चरणको लक्षित वर्गमा राखिएको थियो ।

खोप लगाइएकामध्ये तीन सय ४५ जनालाई सामान्य ज्वरो आएको र तीन जना गम्भीर बिरामी भएको निर्देशनालयको तथ्यांक छ । सामान्य तथा गम्भीर बिरामी भएकाको पनि हाल स्वास्थ्यमा सुधार आइसकेकाले खोपका कारण खतरा नरहेको निर्देशक अधिकारीले दाबी गर्नुभयो । उहाले दोस्रो चरणको खोप कार्यक्रमबारे सामाजिक विकास मन्त्रालयमार्फत् सम्बन्धित निकायमा समन्वय भइरहेको बताउनुभयो ।प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का कारण शून्य दशमलव ६७ प्रतिशत् अर्थात् ९ सय ९७ जनाले ज्यान गुमाएको सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता डा. पुरूषोत्तमराज सेढाईंले जानकारी दिनुभयो ।

संक्रमितमध्ये हाल १ दशमलव ०२ प्रतिशत् अर्थात् एक हजार पाच सय २० जना उपचाररत् छन् भने ९८ दशमलव ३२ प्रतिशत अर्थात् एक लाख ४७ हजार ८६ जना संक्रमणमुक्त भएका छन् । एक लाख ४९ हजार ५ सय ६३ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये ६० दशमलव ६ प्रतिशत पुरूष छन् भने महिला ३९ दशमलव ४ प्रतिशत छन् । २१ देखि ५० वर्ष उमेर समूहका नागरिकमा यसको संक्रमण बढी देखिएको छ ।

मकवानपुरमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन न्यून हुदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । मकवानपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १० मात्र रहेको बताइएको छ ।मकवानपुरमा कोरोना पुष्टि भएका तीन हजार ८ सय ७५ मध्ये तीन हजार ८ सय ३३ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । संक्रमित सबै हेटौंडाका रहेको र होम आइसोलेसनमा उपचाररत् रहेको कार्यालयले जनाएको छ । कारोना संक्रमण शुरू भएको ११ महिनामा मकवानपुरमा हालसम्म कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्