प्रदेश नम्बर १ को बैठक फागुन ९ गतेसम्म स्थगित



हरिहर नेपाल ,बिराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक फागुन ९ गतेसम्मलाई स्थगित भएको छ । आइतबारको बैठक सत्तापक्षकै सांसदहरूले अबरोध गरेपछि सभामुख प्रदिपकुमार भण्डारीले फागुन ९ गतेसम्मलाई बैठक स्थगित गर्नुभएको हो ।

प्रदेसभा बैठकमा राष्ट्रिय गीत बजे लगत्तै उठेर सत्तापक्षका सांसदहरूले विरोध जनाएपछि सभामुख भण्डारीले बैठक फागुन ९ गते सम्मका लागि स्थगित गर्नुभएको हो ।नेकपाको संसदीय दलले ३ महिनाका लागि कारबाही गरेर निलम्बन गरिएका सांसदहरूलाई बैठकमा उपस्थिति गराएर संसद् बैठक चल्न नसक्ने भएकाले आफूहरूले बैठकमा अबरोध गरेको सत्तारूढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनुभयो ।यता नेकपाका माधव–प्रचण्ड समूहका सांसदहरूले भने चरम सत्तालिप्साले समस्या निम्तिएको बताएका छन् ।

मुख्यमनत्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावका प्रस्तावक तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले चरम सत्ता लिप्साले समस्या निम्तिएको बताउनुभयो ।सभामुखसँग छलफल गरेर भोलि नै बैठक बोलाउन पहल गर्ने आङ्वोको भनाइ छ । यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले आजको कार्यसूचीमा स्पष्ट रूपमा मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव टेबुल गर्ने भन्ने उल्लेख भए पनि सत्तापक्षकै सांसदहरूले प्रदेशसभा बैठक अवरूद्ध पारेको बताउनुभयो ।

सत्तापक्षबाटै बैठक अवरूद्ध भएको पहिलो घटना हुनसक्ने बताउनुभयो । कोइरालाले संसद बैठकमा सत्तापक्षबाटै अविश्वासको प्रस्ताव टेवुल हुनै नदिने कामले संघीय लोकतान्त्रिक गणतन्त्र र संसदीय व्यवस्थालाई राम्रो नगर्ने उहाको भनाइ छ ।सत्तारूढ नेकपा भित्रको किचलोले प्रदेश १ को प्रदेशसभा बैठक प्रभावित हुदै आएको छ । यसअघि हिउदे अधिवेशनको पहिलो बैठक पनि प्रदेश प्रमुखले पठाएको अधिवेशन आह्वानको पत्र पढेर स्थगित गरिएको थियो । नेकपा प्रचण्ड माधव समूहले मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गर्दै मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गरेको छ ।

मुख्यमन्त्रीलाई नेकपाका बहुमत सांसदले दलको नेताबाट हटाएका छन् । मुख्यमन्त्रीले पनि अविश्वास प्रस्ताव दर्ता गर्ने १६ जना सांसदलाई निलम्बन गर्नुभएको छ । सत्ता रूढ नेकपाको प्रचण्ड माधव समूहका सांसदहरूले ओली पक्षीय मुख्य मन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गरेपछि प्रदेश १ मा नेकपाभित्रको किचलो चुलिदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्