सल्यानमा ९ सय ६७ जनाले लगाए कोरोना विरुद्धको खोप



सरिता चलाउने, सल्यान ।

सल्यानमा पहिलो चरणमा ९ सय ६७ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । माघ १४ गते बुधबारबाट जिल्लामा खोप लगाउन सुरु भएकामा अहिले सम्म ९ सय ६७ जनाले खोपको पहिलो डोज लगाएका हुन् ।

स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, नगरपालिकाका सफाई कर्मचारी, कैदीबन्दी, सुरक्षाकर्मी लगायतले पहिलो चरणमा खोप पाएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य सेवा कार्यालयको लक्ष्य अनुसार १२ सय जनाले लगाउने भनिए पनि ९ सय ६७ जनाले मात्र खोप लगाएको उहाँले बताउनु भयो । जिल्लामा कुल १ सय ९२ भाईल खोप आएको थियो । पहिलो चरणको खोप कर्मचारी, कैदीबन्दी र सुरक्षाकर्मीलाई पनि खोप दिईएको उहाँले बताउनु भयो ।

अब दोस्रो चरणको खोप लगाउ भनेर निर्देशन आयो भने बचेको खोप लगाउने सुरु गर्ने उहाँले बताउनुभयो । यसैविच खोपको पहिलो डोज पाएकाहरुलाई एक महिना पछि दोस्रो डोज दिईने स्वास्थ्य सेवा कार्यालयले सल्यानले जनाएको छ । जिल्लामा खोप लगाएका केहीमा सामान्य ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्ने लक्षण देखिए पनि बाकिको अवस्था सामान्य रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्