बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा



एजेन्सी ।

बार्सिलोनाले स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे कपको सेमीफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा कमजोर टिमसँग संभावित हारको मुखमा पुगेर पनि पुनरागमन जित निकाल्दै बार्सिलोना अन्तिम चारमा प्रवेश गरेको हो । क्वार्टरफाइनल खेलमा बार्सिलोनाले ला लिगा टोली ग्रानाडालाई उसैको घरेलु मैदानमा ५–३ गोलअन्तरले हरायो ।

खेलको ८७औं मिनेटसम्म पुग्दा २–० ले पछि रहेको बार्सिलोनाले ५ मिनेटमा दुई गोल गरेर निर्धारित ९० मिनेटसम्म २–२ गोलको बराबरीमा टुंगायो । त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा बार्सिलोनाले आफूले एक गोल बेहोर्दै तीन गोल थपेर खेल ५–३ ले जित्न सफल भयो ।

खेलमा बार्सिलोनालाई जिताउन एन्टोनी ग्रीजम्यान र जोर्डी अल्बा नायक बने । ग्रीजम्यानले टिमका लागि दुई गोल र दुई असिस्ट गरे । त्यसैगरी, अल्बाले पनि दुई गोल र एक असिस्ट गरे । फ्रेन्की डे जोङले टिमका लागि पाँचौं गोल गरेर जित सुनिश्चित गरेका थिए । मेसीले प्रेरणादायी प्रदर्शन गरेको खेलमा उनले एक गोलमा सोझै असिस्ट गर्दा ५ मध्ये ४ गोलमा अवसर सिर्जना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्