निर्वाचन भए संविधानको हत्या: डा. भट्टराई



इन्द्र गिरी, संखुवासभा  । प्रतिनिधिसभा विघटन र संवैधानिक अंगको नियुक्तिले देश गम्भीर संकटतर्फ जाने र द्वन्द्वमा फस्ने पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्र्टीका नेता डा. बाबुराम भट्टराईले बताउनुभएको छ । उहाँले नेकपा ओली सरकार निरंकुशता फासीवादी शासनतर्फ उन्मुख भएको आरोपसमेत लगाउनुभयो ।

संखुवासभाको खाँदबारीमा आज शुक्रबार हुने आमसभालाई सम्बोधन गर्न आउनुभएका डा. भट्टराईले पत्रकार सम्मेलनमा सरकारको प्रतिगमन र सेनाको गतिविधिले देशमा संकटकाल घोषणा गरी संविधानका धारा निलम्बन गरेर तानाशाही शासनतर्फ सरकार अगाडि बढ्न खोजेको आरोप लगाउनुभयो ।उहाँले प्रधानमन्त्री केपी ओलीको सरकार प्रतिगमनको यात्रामा रहेको उल्लेख गर्दै प्रतिगमन सच्याउनुपर्नेमा अहंकार ढंगले संवैधानिक अंग नियुक्ति गरेर एकल तानाशाही शासनतर्फ उन्मुख रहेकाले त्यसको विरोधमा जनआन्दोलन गर्न ढिला गर्न नहुने बताउनुभयो ।

उहाँले प्रतिगमनका विरुद्ध जनता सडकमा नआए प्रतिगमन नसच्चिने दाबीसमेत गर्नुभयो ।उहाँले पत्रकार सम्मेलनमा सरकार निर्वाचन गराउने मनसाय छैन । गराए पनि जनताले निर्वाचन स्वीकार नगर्ने बताउँदै निर्वाचन भए संविधानको हत्या हुने र गणतन्त्र संघीयता धर्मनिरपेक्षता खारेज हुने बताउनुभयो ।जनता समाजवादी पार्टीले आज शुक्रबार जिल्लाको सदरमुकाम खाँदबारीमा प्रतिनिधिसभा विघटन र संवैधानिक अंगको नियुक्तिको विरुद्धमा प्रदर्शन र सभा गर्ने जिल्ला संयोजक कवानशेन राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्