दुई श्रीमती फकाउने भिडियो



सञ्चारकर्मी कलाकार, नृत्य निर्देशक तथा निर्देशक अमरकृष्ण चन्द ‘अकृच’ दुईटी श्रीमती फकाउँदै छन्। उनले आफ्नो नवीनतम प्रस्तुति लोकतेहरी एल्बम घाटा भो धन्दामा दुईटी स्वास्नी बोलको गीतको म्युजिक भिडियोमा दुई श्रीमती फकाएका हुन्।

अमरकृष्ण भिडियोमा हास्य अभिनेत्री निरू खड्का र तामाङ फिल्मकी नायिका अनु लामालाई फकाइरहेका देखिन्छन्। हालै सिमली मिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक भएको घाटा भो धन्दामा दुईटी स्वास्नी बोलको गीतको भिडियोमा चन्दकी दुई श्रीमतीको भूमिकामा रहेकी खड्का र लामाले उत्कृष्ट अभिनय गरेका छन्।

समसामयिक विषयवस्तुमा आधारित मौलिक नेपाली लोकतेहरी गीतमा समाजमा हुने तीतो यथार्थलाई जस्ताको त्यस्तै चित्रण गरिएको छ। दुईटी श्रीमती ल्याउँदा भोग्नुपर्ने पीडालाई गीतमा समेट्दै दुईटा नाम्लो एउटै थाप्लोमा बोक्न खोज्दा आइपर्ने व्यावहारिक स मस्यालाई गीतको भिडियोमा निर्देशक कमल दाहालले उतारेका छन्।

दुई श्रीमती बीचमा हुने उतार–चढाव, मन–मुटाव तथा घरायशी घर झगडालाई समेटिएको भिडियोमा चन्दको साथमा खड्का र लामाको समेत आकर्षक अनि मार्मिक अभिनय रहेको छ। समाजमा दुईटीको झगडाले व्यवहार बिग्रँदा घरसमेत बिग्रन पुगेको तीतो यथार्थ प्रस्तुत गरिएको भिडियोमा सुमन वाग्लेको छायांकन र सुवास देवकोटाको सम्पादन रहेको छ।

कमल दाहालको लय तथा शब्द, जितु लोप्चन, कुमारी लामा र कमल दाहालको स्वरले सजिएको गीतमा संगीत सूर्यकिरण लामाको रहेको छ। भिडियोमा रमणीय पर्यटकीय स्थल धुलिखेल र पाँचखालको दृश्य समेटिएको छ। लोक पारखीहरुलाई नौलो स्वाद पस्कने उद्देश्यअनुरूप तयार पारिएको भिडियो गौरीशंकर सांस्कृतिक समूह खावा पाँचखालले निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस्