मलामी भवनमा सशस्त्र प्रहरीको बिओपी स्थापना



उत्तम नेपाल ,भद्रपुर । विगत लामो समयदेखि प्रयोगविहीन बनेको भद्रपुर ५ स्थित मेची किनारमा रहेको सार्वजनिक मलामी विश्राम भवनलाई सशस्त्र प्रहरीले सदुपयोग गर्दै त्यही भवनमा बिओपी स्थापना गरेको छ । भद्रपुर नाकालाई लक्षित गरी अस्थायी रुपमा स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट स्थापना गरेको हो ।

पाठामारी, ज्यामिरगढी र भद्रपुर गरी झापामा यसबर्ष तीन वटा नयाँ बिओपी स्थापना भइसकेको सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनीका प्रदेश नम्बर १ का डिआइजी वंशीराज दाहालले बताउँनुभयो । हाल देशभर ११४ वटा बिओपी रहेको उहाँको भनाइ छ । सरकारको सीमा सुरक्षा योजना बमोजिम यस आर्थिक वर्षमा थप ११४ वटा बिओपी स्थापना गरी २२१ वटा पु¥याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
भद्रपुरसहित देशभर हालसम्म २०० वटा बिओपी स्थापना भइसकेको उहाँले बताउँनुभयो । प्रदेश नम्बर १ मा ५० वटा बिओपी पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

हाल सम्म प्रदेश एकमा ४२ वटा बिओपी स्थापना भइसकेको उहाँले जनाउँनुभयो । ८ वटा बिओपी स्थापना गर्ने क्रममा रहेको उहाँको भनाइ छ । बाँकी सबै बिओपी झापामा स्थापना गरिने उहाँले जानकारी दिनुभयो ।त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले १४४ दशमलव २ किलोमिटर जिल्लाको खुल्ला सीमाबाट हुने आपराधिक क्रियाकलाप, अतिक्रमण, चोरी निकासी जस्ता कार्य रोक्न स्थापना गरिएको बिओपीले सीमा सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताउँनुभयो । पछिल्लो समय झापामा लागूऔषधको अवस्था बढ्दो रुपमा रहेकोले सो नियन्त्रणका लागि पनि विओपीले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।त्यस्तै जिल्लामा सशस्त्र प्रहरीले बाहुनडाँगी, काँकडभिट्टा, पृथ्वीनगर, केचना, घेराबारी, भागडुब्बा, कुञ्जीबारी, गौरीगञ्ज, टाघनडुब्बा, पाठामारी, ज्यामिरगढी र भद्रपुरमा बिओपी स्थापना गरिसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिनुभयो ।

तिरिङ, नकलबन्दा, सतीघट्टा, महेशपुर, पन्थपाडा र गौरदाहको आँपगाछीमा बिओपी स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको उहाँको भनाइ छ ।भद्रपुर स्थापना गरिएको अस्थायी बिओपीलाई स्थायित्व दिनलाई मेची पुल पारी भद्रपुर नगरपालिका कार्यालयले एक विगहा जमिन दिने निर्णय गरिसकेको र त्यसको प्रक्रिया सुरु भइसकेको बिओपी भद्रपुरका सशस्त्र प्रहरी निरीक्षक विभुराज दाहालले जानकारी दिनुभयो । बिओपी स्थापना भएसँगै भद्रपुर भन्सार तथा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी गणबाटै आउनु पर्ने बाध्यता समेत टरेको उहाँको भनाई छ ।

मलामी विश्राम भवनमा सशस्त्र प्रहरी

मेची नदीमा दाहसंस्कार गर्न जाने मलामीलाई लक्षित गरी नगरवासीहरूबाट सङ्कलित लाखौँ रुपैयाँको लागतमा निर्माण गरिएको सार्वजनिक मलामी विश्राम भवन विगत लामो समयदेखि प्रयोगविहीन अवस्था थियो । ०६४ सालमा भद्रपुरका उद्योगी पर्शुराम अग्रवालको संयोजकत्वमा मलामी भवन निर्माण समिति गठन गरी भवन निर्माण गरिएको थियो । लगभग १३ लाख ९५ हजार लागतमा १४ वर्ष अघि निर्माण भएको एक तल्ले विश्राम भवन प्रयोगविहीन बनेपछि सशस्त्र प्रहरीले त्यसलाई प्रयोगमा ल्याएको छ ।

कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सरकारले सीमा नाका बन्द गराएपछि सशस्त्र प्रहरीले त्यही मौका छोपी सो भवन प्रयोगमा ल्याएको थियो । बेवारिसे अवस्थामा रहेको भवनलाई सशस्त्र प्रहरीले मर्मत सम्भारसँगै खानेपानी, बिजुली जडान गरी प्रयोगमा ल्याएको छ । प्रयोगविहीन भएको भवनलाइ सदुपयोग होस भन्ने उदेश्यले दुइ वर्षका लागि भवन जिम्मा दिएको अग्रवालको भनाइ छ ।

प्रयोगमा ल्याएको भवनमा स्थापना गरिएको बिओपीमा २७ जना सशस्त्रको दरबन्दी रहेको प्रहरी निरीक्षक विभुराज दाहालले बताउँनुभयो । २७ जनामध्ये ६ जना भन्सार कार्यालय, ६ जना देवीवस्तीमा रहेको अस्थायी पोस्ट र १५ जना बिओपी खटिने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्