मुस्ताङमा ब्ल्याक नार्सिसस



रुमेर गोडेनारा लिखित उपन्यास ब्ल्याक नार्सिससमाथि नेपाली कलाकारलाई समेत समावेश गरी फिल्म निर्माण भएको छ। सन् १९३९ मा रुमेर गोडेनद्वारा लिखित उपन्यास ब्ल्याक नार्सिसस सन् १९४७ मा सिनेमामा रूपान्तरण भएको थियो।

डेबोरा केर अभिनित यो फिल्मले त्यस बेला ओस्कार एकेडेमी अवार्डमा दुई अवार्ड जितेको थियो। नयाँ ब्ल्याक नार्सिसस यही फिल्मको रिमेक हो। बेलायतको एफ एक्स र बीबीसी वनले निर्माण गरेको नया“ फिल्म नेपालमा खिचिनुका साथै यसमा नेपाली कलाकारको पनि अभिनय रहेको छ।

सन् १९३४ को पृष्ठभूमिमा बनेको फिल्मले स्कुल बनाउने उद्देश्यले नेपाल आएका क्याथोलिक ननको कथा पेस गर्छ। फिल्ममा गेम अफ थ्रोन्स अभिनेत्री डायना रिग, प्रिन्स अफ पर्सिया तथा जेम्स बन्ड सिरिजको पछिल्लो फिल्म क्वान्टम अफ सोलेसकी अभिनेत्री जेमा आर्टेटोन, गेम अफ थ्रोन्स अभिनेत्री एसलिङ फ्रान्सिकोइलगायतका कलाकारको अभिनय रहेको छ।

फिल्ममा बेलायती सिरिज आवर गर्लमा अभिनय गरेका सविन बस्नेत, दीपिका कुँवर, दिलीप राईलगायतका नेपाली कलाकारको पनि अभिनय रहेको छ। पहिलो भागका सहनिर्देशक इमेरिक प्रेसबर्गका नाति एन्ड्रयु म्याकडोनाल्ड यो फिल्मका निर्माता हुन्।

म्याकडोनाल्डका अनुसार यो पुस्तक उनको हजुरआमाको मनपर्ने पुस्तक थियो र उनकै इच्छामा पुस्तकलाई सिनेमामा रूपान्तरण गरिएको थियो। तर, त्यस बेला यो फिल्मको सम्पूर्ण सुटिङ पाइनवुड स्टुडियोभित्र भएको थियो।

हिमालयको पृष्ठभूमि माग्ने फिल्मको सुटिङ स्टुडियोमा मात्र सीमित गरेकोमा लेखक रुमेर गोडन खुसी थिइनन्। यसैले जब बीबीसीले यसलाई फेरि बनाउने निर्णय ग¥यो, निर्माता निर्देशकको छनोटमा नेपाल प¥यो। यसरी नेपाल आएको टोलीले तीन हप्तासम्म मुस्ताङको तल्लो भेगमा सुटिङ गरेको थियो। नेपालमा सुटिङको व्यवस्थापन लोकेसन नेपालले गरेको थियो।

फिल्म्स् एन्ड एड फिल्मस्को भगिनी संस्था लोकेसन नेपाल गौतम धिमाल र प्रेम उपाध्यायले स्थापना गरेको अन्तर्राष्ट्रियस्तरको प्रडक्सन कम्पनी हो। ब्ल्याक नार्सिससबाहेक यो कम्पनीले आजसम्म दर्जनभन्दा बढी फिचर फिल्म, अन्तर्राष्ट्रिय विज्ञापन र टिभी सिरिजको काम गरिसकेको छ।

ब्ल्याक नार्सिससका लागि लोकेसन नेपालले मुस्ताङदेखि इलामसम्मको लोकेसन देखाएको थियो। फेन्सेस, द गर्ल अन द ट्रेन, अ क्वाइट प्लेस निर्देशक चारलोट ब्रुसले अन्तिममा मुस्ताङ र छेउछाउको एरिया कथाका लागि उपयुक्त ठम्याएपछि फिल्मको सुटिङ मुस्ताङमा गरिएको हो।

ब्ल्याक नार्सिसस सन् २०२० को नोभेम्बरमा अमेरिका र सोही वर्षको डिसेम्बरमा बेलायतमा रिलिज भइसकेको छ। तीन भागको यो सिरिज बीबीसी आइप्लेयरमा रिलिज भइसकेको छ। डेलिमेल, गार्जियन, न्युयोर्क टाइम्सलगायतका विश्व प्रतिष्ठित पत्रिकाले रिभ्यु गरेको फिल्मले समीक्षामा सकारात्मक प्रतिक्रिया पाएको छ।

प्रतिक्रिया दिनुहोस्