कामना प्रतिष्ठान शाखाको साधारणसभा सम्पन्न



गणेशबहादुर मल्ल, काठमाडौं ।

नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको वार्षिक साधारणसभा तथा अधिवेशन सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरी सम्पन्न भएको छ ।

अतिथिका तर्फबाट आफ्नो मनतव्य राख्दै नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेले यस संस्थाबाट धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएको बताउनुभयो । उहाँले स्वर्गीय पुष्करलालको योगदानका कारण यस संस्थाले निरन्तरता पाएको बताउनुभयो । काफ्लेले विगत केही समयदेखि पत्रकार महासंघ राजनीतिक भागबन्डाको थलो बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

त्यसै गरी शुभकामना मन्तव्यकै क्रममा वरिष्ठ पत्रकार राजेन्द्र पराजुलीले स्वर्गीय पत्रकार पुष्करलाल श्रेष्ठ र कामना प्रकाशनले आफूलाई स्थापित पत्रकार बनाउनमा महŒवपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले पत्रकार महासंघ केन्द्रले विगतमा पत्रकारका हितमा धेरै राम्रा काम गर्न नसकेको उल्लेख गर्दै हाल राजनीतिक हस्तक्षेपका कारण भने महासंघ भ्रातृ संगठन जस्तो हुन गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा उपस्थित पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि एम विरहीले ६ दशकअघि स्थापना भएको महासंघमा पहिलेको जस्तो ठेकेदारी प्रथाको अन्त्य हुँदै गएको बताउँदै अब महासंघ खुला निर्वाचनमा जान लागेको बताउनुभयो । उहाँले पछिल्लो समय महासंघ श्रमजीवीमुखी बन्दै गएको दाबी गर्नुभयो । विरहीले महासंघबाट राजनीतिक व्यक्तिलाई विस्थापित गर्दै श्रमजीवीको थलो बनाउने कार्यमा संलग्न हुन सबैलाई आग्रह गर्नुभयो ।

३ वर्षको अन्तरालमा पत्रकार लक्षित कडा कानुन बने तापनि महासंघले लडाइँ लडेर संशोधन गर्न सफल भएको उहाँले दाबी गर्नुभयो । हजारौं गैरपत्रकारको घूसपैठ भएको उल्लेख गर्दै उहाँले अब खुला मतदानले सुधारिने अवस्था आएको बताउनुभयो ।

३० वर्ष निरन्तर पत्रकारिता क्षेत्रमा लागेको ६० वर्ष नाघेका वरिष्ठ पत्रकारलाई छिट्टै पेन्सनको व्यवस्था गरिने उहाँले बताउनुभएको छ । पत्रकार दुर्घटना बीमाका लागि १ करोडको कोष खडा भएको उहाँले जानकारी दिनुभयो । सर्वोच्चबाट विज्ञापन नीति पारित भएको जनाउँदै विरहीले महासंघका तर्फबाट समस्यामा परेका मिडियालाई सहुलियतपूर्ण ऋणको माग भएको जानकारी दिनुभयो ।

यस्तै, विभिन्न कामका लागि उपत्यका आएका पत्रकारको बस्ने व्यवस्थाका लागि पुरुष छात्रवास उपलब्ध भएको र महिला छात्रावास भने निर्माणाधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । हाल विभिन्न युट्युब र अनलाइनका कारण बेलाबखतमा समस्या उत्पन्न भएको बताउँदै विरहीले यस समस्या समाधानका लागि महासंघले विभिन्न कार्यक्रम बनाउँदै गरेको जानकारी दिनुभयो ।

शाखाका कार्यवाहक अध्यक्ष राजु श्रेष्ठले सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । श्रेष्ठले स्वर्गीय पत्रकार पुष्करलाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शाखाका आगामी कार्यक्रमका बारेमा विभिन्न योजना प्रस्तुत गर्नुभएको थियो ।

उहाँले शाखाबाट बेलाबखतमा आफ्ना सहकर्मीका लागि हुँदै आएको विभिन्न आर्थिक सहयोगका बारेमा बताउँदै श्रेष्ठले आगामी दिनहरुमा पनि यस्ता कार्य भइरहने जानकारी गराउनुभएको थियो । पत्रकारको हितका लागि प्रकाशन गृहमा कार्यरत पत्रकारहरुले प्रत्येक महिना महासंंघको कोषमा एक सय जम्मा गर्ने निर्णय गरेका छन् ।

कार्यक्रमको अन्त्यमा बोल्दै पत्रकार कमल ढकालले आर्थिक हिसाबमा पत्रकारिता क्षेत्र निकै कठिन भए तापनि ज्ञान आर्जनका लागि भने यो क्षेत्र मुख्य स्रोत भएको उल्लेख गर्नुभएको छ ।

भीमसेनस्थानस्थित कामना प्रतिष्ठानको भवनमा भएको सो कार्यक्रममा अतिथिका रुपमा कामना न्यूज पब्लिकेसन्स् प्रालिका प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठ, पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि एम विरही, नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्ले, वरिष्ठ पत्रकार राजेन्द्र पराजुली, पत्रकार कमल ढकाल, प्रेस संगठन ललितपुरका अध्यक्ष ईश्वरराज ढकाल, नेवाः पत्रकार राष्ट्रिय दबुका महासचिव सुनील महर्जन, कामना मासिकका सम्पादक विदुर गिरी, प्रतिष्ठानका पूर्वअध्यक्षहरु विकास भट्टराई, दीपक रिजाल, टीका बन्धनलगायत प्रतिष्ठानका कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाका कोषाध्यक्ष सूर्यप्रसाद अर्यालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव यदु भट्टले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्