वृद्धाको पिटाइका कारण युवक अस्पतालमा



न्युयोर्क सिटी, (एजेन्सी)

अमेरिकामा बडी बिल्डिङमा अवार्ड विजेता ८२ वर्षीया हजुरआमाको पिटाइ खाएर एक युवकलाई अस्पतालै लैजानुपरेको छ । न्युयोर्कको रोचेस्टरस्थित आफ्नो घरमा बेलुका करिब एघार बजे जबर्जस्ती छिर्ने प्रयास गरेका व्यक्तिलाई विल्ली मर्फीले पिटेर मज्जा चखाएकी हुन् ।

ती वृद्धा सुत्ने तरखर गरिरहँदा एक अपरिचित व्यक्ति उनको घरमा घुस्न खोजेका थिए । मर्फीले सञ्चारमाध्यमलाई भनेकी छन्– ‘एकजना मानिसले मूल ढोका ढकढकाउँदै आफू बिरामी भएकाले एम्बुलेन्स बोलाइदिन अनुरोध गरे ।

मैले भित्र आउन नदिएकाले ती व्यक्ति निकै रिसाउन थाले । उनी बेस्सरी बल प्रयोग गरेर ढोका फोडेर भित्र आए । त्यसको ग्रह दशा बिग्रेको रहेछ । गलत घरमा छिरेछन् उनी । टेबुल उचालेर उनीमाथि बजाइहालेँ ।

टेबुल भाँच्चियो । उनी भुइँमा लडे । तर, मेरो रिस थामिएन । म लगातार उनीमाथि हमला गरिरहेथें । त्यसपछि मैले कुचो उठाएर पनि उनलाइ पिट्न थालें । उनी उठ्ने असफल प्रयास गरिरहेका थिए । अन्त्यमा एम्बुलेन्स त आयो, उनलाई घाइते अवस्थामा अस्पताल पु-याउन । प्रहरीले मेरो साहसको प्रशंसा गरे ।’

प्रतिक्रिया दिनुहोस्