क्षयरोग के हो र कसरी निदान गर्न सकिन्छ ?



क्षयरोग प्राचीनकालदेखि नै लाग्दै आएको रोग हो । मुख्य गरी फोक्सोमा लाग्ने रोग भए तापनि शरीरका अन्य अंगमा पनि क्षयरोग लागेको पाइन्छ । फोक्सोबाहेकका अन्य अंगमध्ये फोक्सोको बाहिरी झिल्ली, लासिका ग्रन्थि, पाचन प्रणाली, मूत्र प्रणाली तथा प्रजनन प्रणाली, हाड जोर्नी, मस्तिष्कको बाहिरी झिल्ली, छाला, आँखा इत्यादि हुन् ।

क्षयरोग विश्वमा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहिआएको छ ।
क्षयरोग माइको ब्याक्टेरियम ट्युबरकुलोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ, खाना, यौनजन्य क्रियाकलापबाट भने सर्दैन ।

र, अर्को कुरा क्षयरोगका कीटाणुबाट प्रभावित सबै व्यक्तिलाई पनि क्षयरोग लाग्दैन ।यदि क्षयरोगका कीटाणुले आक्रमण गरेका व्यक्तिमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन, रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्छ ।

जस्तैः कुपोषण, एचआईभी संक्रमण भएका मानिसहरुमा यो रोग छिटो विकसित हुन्छ । क्षयरोगको कीटाणुले आक्रमण गरेका व्यक्तिमध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकशित हुन सक्छ अर्थात् रोगका लक्षण देखा पर्दछ ।
प्रत्येक वर्ष एक करोड मानिस क्षयरोगले संक्रमित भेटिन्छन् ।

जसमध्ये २० लाख बिरामीले क्षयरोगकै कारण ज्यान गुमाउने गरेका छन् । यद्यपि उपलब्ध खोप, निदान विधि, उपचार विधिको सहजता र जनचेतनाको कारणले जुनैसुकै देशमा पनि यो रोगको संक्रमण विस्तारै घट्दै गएको पाइएको छ ।

मुख्यतः क्षयरोगलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ– फोक्सोको क्षयरोग र फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग (ग्रन्थि, आन्द्रा, मेनेन्जेस, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदि) । फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगको निदान गर्न फोक्सोको क्षयरोगभन्दा गाह्रो हुन्छ ।

फोक्सोको क्षयरोगका लक्षणहरू– दुई साता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, शरीरको तौल घट्नु, खासगरी बेलुकीपख ज्वरो आउनु, छाती दुख्नु, खाना अरुचि हुनु, खकारमा रगत देखिनु आदि ।

त्यसै गरी फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगका लक्षणहरु अंगअनुसार फरक हुने गर्छ । जस्तै– टिबी, मेनेन्जाइटिस भएको खण्डमा बिस्तारै–बिस्तारै टाउको दुख्न थाल्ने, ज्वरो आउने, घाँटी अररो हुने, मानसिक भ्रम हुने, शरीर काम्ने तथा बेहोस हुने आदि हुन सक्छ ।

हाड तथा जोर्नीको क्षयरोग भएको खण्डमा क्षयरोगले प्रभावित पारेको हाड वा जोर्नी दुख्ने, हाड–जोर्नी चलाउन गाह्रो हुने तथा सुन्निने, पछि छालामा प्वाल बनी पीप निस्कने आदि हुन सक्छ । पेटको क्षयरोग भएको खण्डमा पेट दुख्ने, दिसा पातलो हुने, दुब्लाउँदै जाने, पेटमा छाम्दा डल्लो फेला पर्ने, मन्द ज्वरो आउने तथा खाना रुचि नहुने आदि हुन सक्छ ।

त्यस्तै ग्रन्थिको क्षयरोग भएको खण्डमा ग्रन्थिको आकार बढ्ने, ग्रन्थिमा तातोपन नहुने, सुन्निने, ग्रन्थि नदुख्ने साथै धेरै ग्रन्थिहरु एक–अर्कामा जोडिएको जस्तो हुने र पछि छालामा प्वाल बनी पीप निस्कने आदि हुन सक्छ ।

यो रोग निदान गर्न अलि कठिन हुने गर्छ । केही बिरामीमा त संक्रमणको प्रयोगशाला प्रमाण नहुँदा लक्षणकै आधारमा पनि क्षयरोगविरुद्धको उपचार चलाउनुपर्ने हुन्छ ।

निदानका लागि गरिने सामान्य जाँचहरु यसप्रकार छन्– रगतको सामान्य जाँच, खकारको जाँच, पिसाबको जाँच, छातीको एक्सरे, पीसीआर इत्यादि । पीसीआर विधिबाट क्षयरोग बेलैमा निदान गरी सरल तरिकाले उपचार गर्न आजकल हदैसम्म सजिलो भएको छ । यो विधिले ९९ प्रतिशत केसमा क्षयरोग भएको वा नभएको पुष्टि गर्ने गरेको छ ।

पिसाब गर्ने मार्गबाट दूरबिन भएको यन्त्र सिस्टोस्कोप पठाई शंका लागेको ठाउँबाट मासु जाँचको लागि पठाइन्छ र मूत्र प्रणालीको क्षयरोग पता लगाउन कोसिस गरिन्छ । औषधिहरुले काम नगरेको खण्डमा जेनोटैपिंग र फेनोटैपिंग विधिबाट उचित जाँचहरु पनि गरिछ । निदान गर्दा यो रोग प्रायः मूत्र प्रणालीको अन्य संक्रमण, क्यान्सर तथा पत्थरीसँग झुक्किने देखिन्छ ।

जटिल स्थिति भएको, नभएको पत्ता लगाउन विशेष किसिमको एक्सरे तथा सिटी स्क्यान पनि गर्नुपर्ने हुनसक्छ । यी विधिहरु अलि महँगो हुनाले रोग निदानमा अनेक समस्या देखिन्छन् । तसर्थ आफूलाई उपचार गर्ने चिकित्सकको सल्लाहअनुसार जाँच र उपचारको प्रक्रिया अगाडि बढाई चिकित्सकलाई उपचार गर्ने वातावरण सहज बनाइदिनुपर्छ ।

क्षयरोग नियमितरूपमा औषधिको सेवनबाट पूर्ण निको हुन्छ । नेपाल सरकारले क्षयरोगविरुद्धमा अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गराउँदै आएको छ । उपचार अवधि भने संक्रमित अंग, रोगको प्रकृति हेरी फरक हुन्छ ।

यस अवधिमा सबै बिरामीहरुलाई डट्सअन्तर्गत राखेर उपचार गरिन्छ, जसमा बिरामीलाई प्रत्येक दिन उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिन्छ । औषधिहरुको सेवनबाट पिसाब रातो हुन सक्छ तर यो सामान्य हो, डराउनुपर्दैन ।

नेपाल सरकारले स्वास्थ्य मन्त्रालयमार्फत प्रत्येक स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रबाट क्षयरोगको निःशुल्क उपचार गर्दै आएको छ । जुन दक्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा दैनिक रुपमा डट्स केन्द्रबाट औषधि प्रदान गरिन्छ र औषधिले गर्दा देखिएको साइड इफेक्टहरु बेलैमा अवलोकन गरी आवश्यक कदम चालिन्छ ।
– शोभा सेन्चुरी, काभ्रे ।

प्रतिक्रिया दिनुहोस्