हर्दी समाज र दूधौली विजयी



हेटौंडा, (नेस) ।

हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार हर्दी युवा समाज चितवन र दूधौली स्पोर्टस् क्लब सिन्धुली विजयी भएका छन् ।

हेटौंडा–१० स्थित वनविज्ञान खेलमैदानमा भएको खेलमा चितवनले वीरगञ्ज युनाइटेडलाई २–० र सिन्धुलीले वीरगञ्ज युथ एकेडेमीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको हो । विजय युथ क्लब हेटौंडाको आयोजनामा जारी प्रतियोगितामा चितवनको जितमा निरज चौधरीले सातौं मिनेटमा र सुरेश कुमालले १३औं मिनेटमा गोल गरेका थिए । चितवनको सुरेश ‘म्यान अफ दी म्याच’ घोषित भए ।

निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि सिन्धुलीले एकेडेमीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको हो । टाइब्रेकरमा सिन्धुलीका गोलरक्षक रेम्बो चौधरीले दुई प्रहार बचाए । उनी खेलको ‘म्यान अफ दी म्याच’समेत घोषित भए ।

सिन्धुलीका लागि टाइब्रेकरमा विक्रम दनुवार, सञ्जय तामाङ, गोपाल लिम्बू र प्रताप राईले गोल गरेका थिए । वीरगञ्ज युनाइटेडका अजय चौधरी र शेष श्रेष्ठले गोल गरेका थिए । वीरगञ्जका कृष्ण शाक्य र आदित्य शाक्यका प्रहार सिन्धुलीका गोलरक्षक रेम्बोले बचाएका थिए । निर्धारित समयमा वीरगञ्जका तर्फबाट आदित्य शाक्यले गोल गरेका थिए । सिन्धुलीका प्रताप राईले बराबरी गोल गरेका थिए ।

शुक्रबारदेखि हेटौंडामा शुरू भिडोल विजय युथ हेटौंडा गोल्डकपमा सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबले विजयी शुरुआत गरेको थियो । हेटौंडास्थित फरेस्ट्री क्याम्पसको खेलमैदानमा भएको उद्घाटन खेलमा भरतपुरले घरेलु टोली मकवानपुरलाई २–१ ले हराउँदै विजयी शुरुआत गरेको हो ।

खेलको पाँचौं मिनटमै जोना ग्लोरीको गोलबाट भरतपुरले खेलमा अग्रता बनाएको थियो । यद्यपि, १२औं मिनेटमा ऋषि लामाले मकवानपुरका लागि बराबरी गोल फर्काएका थिए । मकवानपुरले त्यो बराबरी गोलको खुसी धेरैबेर मनाउन सकेन । पहिलो हाफकै अन्तिम मिनेटतिर भरतपुरका लागि रञ्जित आलेमगरले दोस्रो गोल गरे । जुन गोल खेलको निर्णायक बन्यो ।

खेलको ‘म्यान अफ दि म्याच’ पनि आलेमगर नै घोषित भए । उनले नगद ५ हजार हात पारे । जितसँगै भरतपुर प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिता उद्घाटन हेटौंडा उपमहानगर उपमेयर मीनाकुमारी लामाले गरेकी थिइन् । प्रतियोगितामा १० टोलीको सहभागिता छ । प्रतियोगिता विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल माघ २३ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्