ललितपुरमा निशुल्क स्वास्थ्य शिविरको अभियान



ललितपुर महानगरपालिका– १६ वडाले अरनिको समाजसंग मिलेर शनिबार आयोजना गरेको बृहत निशुल्क स्वास्थ्य शिविरमा १ सय ३० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

शनिबार मंगलबजारस्थित महारानी पोखरी नजिक सो शिविरको आयोजना गरिएको थियो । सो शिविरमा नशा तथा हाडजोर्नी सम्बन्धी समस्या बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । वरिष्ठ नशा रोग सम्बन्धी विशेषज्ञ डा सर्वोत्तम श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको टोलीले चार घण्टामा सो संख्यामा स्वास्थ्य परीक्षण गरिएको वडा कार्यालयले जनाएको छ ।

परीक्षण गरिएका व्यक्तिहरुमध्ये ६० जनाको नशा र ७० जनाको हाडजोर्नी सम्बन्धी समस्या देखिएको छ । नशा तथा हाडजोर्नी सम्बन्धी समस्या भएका व्यक्तिहरुको औसत उमेर ५० वर्ष भन्दा माथिको रहेको अरनिको समाजका महासचिव डा. सुशील प्रजापतिले बताउनुभयो । शिविरमा स्वास्थ्य सम्बन्धी समस्याका विषयमा परामर्श दिइएको थियो । बिरामीहरुलाई औषधी पनि निशुल्क वितरण गरिएको थियो ।निजी अस्पतालमा नशा तथा हाडजोर्नी सम्बन्धी स्वास्थ्य परीक्षण गराउन मंहगो र सरकारी अस्पतालमा धेरै भीडभाड हुने कारण स्वास्थ्य परीक्षण गराउन गा¥हो भइरहेको बेला शिविर आयोजना गरिएकोमा स्थानीयले खुशी व्यक्त गरे ।

शिविरमा वडाको धौगल र महापालका स्वास्थ्य कार्यान्वयन समितिका स्वयं सेवीहरुले शिविरको व्यवस्थापन सहयोग गरेका थिए भने व्यवस्थापकीय कायको लागि युवा स्वयंसेवीहरुले सघाएका थिए ।

स्वास्थ्य सेवामा सबैको पहुँच योग्य बनाउने र आर्थिकस्तर कमजोर भएका मानिसहरुमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले फागुण २२ गते शनिबारसम्म अभियानकैै रुपमा लगातार स्वास्थ्य शिविर हुने वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । महानगपालिका क्षेत्रमा लगातार स्वास्थ्य शिविर आयोजना गरिएको यो नै पहिलो पटक रहेको छ । आउँदो शनिबार बुबहाल, गाबहालमा मुटु रोग सम्बन्धी शिविर सञ्चालन हुने छ ।

त्यसैगरी फागुण १ गते बालिफल (अशोक हलमा) बाल तथा छाला रोग सम्बन्धी शिविर, फागुण ८ गते नागबहालमा स्त्रीरोग सम्बन्धी शिविर, फागुण १५ गते दौबहालमा पेट तथा कलेजो सम्बन्धी शिविर, फागुण २२ गते मंगलबजारमा ज्येष्ठ नागरिकहरुको लागि नशा, युरोलोजी, मधुमेह र जनरल सम्बन्धी शिविर सञ्चालन हुने छ । प्रत्येक समाजका अनुसार स्त्री रोग सम्बन्धी जाँचमा ४५ वर्ष भन्दा माथिका महिलाहरुको पायस्प्समेर निशुल्क परीक्षण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्