गोलमेच सम्मेलन जरुरी



बुटवल, (नेस)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहोराले विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले त्यसो हुन नसके हिन्दु राष्ट्रका लागि जनमत संग्रह गर्नुपर्ने बताउनुभयो ।

‘चार–पाँच वर्ष पहिले सडकबाट गणतन्त्रको विरोधमा नारा लगाउने परिकल्पना गर्न सकिँदैनथ्यो, तर अहिले जनताले निराशाको अभिव्यक्ति सडकबाट गरिरहेको छ, गणतन्त्रको विरोधमा सडकमा नारा घन्किएको छ । स्वतःस्र्फुत रुपमा खास गरी युवा जमातले यस्ता नारा लगाएका छन्’ –बोहोराले भन्नुभयो ।

प्रधानमन्त्री केपीशर्मा ओलीको कदम अदालतले सदर गरे निर्वाचनमा जानु नै उत्तम विकल्प हुने उहाँले बताउनु भयो । राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ ले मानपकडीमा आयोजना गरेको प्रदेशस्तरीय सभालाई संबोधन गर्दै नेता बोहोराले भन्नुभयोे– ‘अदालतको निर्णय मान्छौं, तर राप्रपाको सोच ताजा जनादेश नै हो, ताजा जनादेश नै अहिलेको निकास हो ।’ जनताले पनि ताजा जनादेश खोजेको उहाँको भनाइ रहेको थियो ।

प्रधानमन्त्री केपीशर्मा ओलीद्वारा संसद विघटन गर्ने कदम असंवैधानिक भएको र अदालतको निर्णय सबैले मान्नुपर्ने उहाँले बताउनुभयो । तर संसद् पुनस्र्थापना भए पुनः फोहोरी खेल शुरु हुने बोहोराले औंल्याउनुभयो ।

निर्वाचनको लागि राप्रपाले तयारी थालिसकेको बोहोराले बताउनुभयो । उहाँले विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसो हुन नसके हिन्दु राष्ट्रका लागि जनमत संग्रह गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्