लेखापालसहित ६ जुवाडे पक्राउ



बागलुङ, (नेस)

बागलुङको निसिखोला गाउँपालिकाबाट तास खेलिरहेको अवस्थामा गाउँपालिकाका लेखापालसहित ६ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिवाङको प्रहरी टोलीले विशेष सुराकीको आधारमा शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम पश्चिम चौरझारी नगरपालिका–१० घर भई हाल निसिखोला गाउँपालिका–२ बस्दै आएका निसिखोला गाउँपालिकाका लेखापाल ३३ वर्षीय खगेन्द्र बुढा मगर, निसिखोला गाउँपालिका–२ जुग्जाखोलाका ३८ वर्षीय मोहन बस्नेत, २९ वर्षीय कपिल भन्ने गमबहादुर खत्री, ३४ वर्षीय रेशम छन्त्याल, २२ वर्षीय खगेन्द्र कुँवर र ३८ वर्षीय रोशन छन्त्याल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट प्रहरीले २३ हजार रुपियाँ बरामद गरेको छ । पक्राउ परेका ६ जनालाई शनिबार जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको र आइतबार जिल्ला सरकारी वकिलको कार्यालयबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरी प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्