चौवासको स्वास्थ्य शिविरमा नागरिकको भीड 

एकै दिन २४६७ को परीक्षण, ४ सयलाई निःशुल्क औषधी



मोतीराम तिमल्सिना, काभ्रे ।

नागरिकहरुकै सेवाका लागि खोलिएको हजुरलाई नमस्ते परोपकारी संस्थाले लगातार ९ वर्षदेखि भुम्लु गाउँपालिकाका नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवाका साथै औषधी उपलब्ध गराउँदै आएको छ । यो वर्ष पनि उक्त संस्थाले भुम्लुको चौवासमा आयोजित कार्यक्रममा स्थानीयलाई निःशुल्क स्वास्थ्य परीक्षणका साथै औषधी उपलब्ध गराएको छ ।

‘एकातिर कोरोनाको छटपटी र महामारीले सर्वसाधारण अस्पतालसम्म जान सक्ने अवस्था रहेन, अर्काेतिर अस्पताल पुगेका नागरिकले पनि सहज र सरल ढंगबाट सेवा प्राप्त गर्न सकेनन्’, संस्थाका अध्यक्ष ताराबहादुर कुँवरले भन्नुभयो– ‘महामारी हुनुअगावै पनि हरेक नागरिकको अस्पतालसम्म सहज पहुँच थिएन र छैन पनि ।

सोही अवस्थालाई मध्यनजर गर्दै हरेक वर्ष सोही क्षेत्रमा औषधी वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गर्दै आएका छौं । यो ९औं वर्ष हो ।’शुक्रबार आयोजित शिविरमा भुम्लु गाउँपालिकाका अलावा चौंरी देउराली गाउँपालिकाका नागरिकहरुको समेत सहभागिता रहेको थियो ।

हजुरलाई नमस्ते ट्रेड लिंक प्रालिको प्रायोजनमा उक्त संस्थाले विशेष स्वास्थ्य शिविरको आयोजना गरी ४ सय जनालाई निःशुल्क औषधी वितरण तथा सरससफाइसम्बन्धी सामग्री उपलब्ध गराएको अध्यक्ष ताराबहादुर कुँवरले बताउनुभयो ।

विशेष स्वास्थ्य शिविरमा २ हजार ४ सय ६७ जना नागरिकले लाभ लिएका छन् । विशेषज्ञहरुको टोलीले महिलासँग सम्बन्धित रहेका विभिन्न रोगको परीक्षण गरेको थियो भने निःशुल्क औषधी उपलब्ध गराएको थियो । त्यस्तै सामान्य परीक्षण तथा अन्य खालका रोगहरुको पनि परीक्षण गरिएको थियो ।

शिविरपछि आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले स्थानीय सरकारले नागरिकहरुको सुखदुःखमा साथ दिइरहेको सन्दर्भमा थप सेवा तथा स्वास्थ्य सामग्री उपलब्ध गराई नागरिकलाई लाभान्वित गराएकोमा धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा अतिथिको आशनबाट बोल्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समिति सदस्य कुमार थापाले मानवीय संवेदना जोडिएको स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याई नागरिकहरुलाई लाभ दिएकोमा धन्यवाद दिनुभयो ।

उहाँले ‘पाँच ज (जमिन, जलस्रोत, जंगल, जनश्रमदान र जनप्रतिनिधि)को अभियान सन्तुलित विकासमा नयाँ आयाम’ भन्ने नाराका साथ आफू आएकाले त्यसैको आधारमा टेकेर खबरदारी गर्न स्थानीयलाई अनुरोध गर्नुभयो । खबरदारी नगर्दा जनप्रतिनिधिले बाटो बिराउन सक्छन् भन्दै उहाँले आफू सधैं आफ्नो सिद्धान्तमा अडिग रहेको बताउनुभयो ।

त्यसै गरी कार्यक्रममा पत्रकार यदुप्रसाद भट्टले आफ्नो मातृभूमिप्रति ताराबहादुरले गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले समाजसेवाको पर्याय बनेका कुँवरलाई सधैं समाजसेवा गर्न पे्ररित गर्ने बताउनुभयो । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’को मूलमन्त्रलाई कँुवरले नर्बिसिएको उहाँको भनाइ थियो ।

एनआरएनए (युरोप) साइप्रसकी प्रतिनिधि रीता दुलालले पनि विद्यालयका लागि शैक्षिक सामग्री सहयोग गर्नुभएको थियो । कार्यक्रममा भुम्लुका चारवटा विद्यालयलाई शैक्षिक सामग्री पनि वितरण गरिएको थियो । साथै सोही कार्यक्रममा हजुरलाई नमस्ते परोपकारी संस्थाका तर्फबाट ४ सय जनालाई विभिन्न राहत सामग्री वितरण गरिएको थियो । भुम्लु चौवासमा मंसिरमा राहतमा समेट्न नसकेकाहरुलाई यसपालि समेटिएको कुँवरले बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष ताराबहादुर कुँवरले नागरिकप्रतिको उत्तरदायित्व बहन गर्दै भुम्लु र आसपासका नागरिकहरुलाई हरेक वर्ष स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभएको थियो । स्वास्थ्य सेवा लिन घण्टौं हिँडेर नागरिकहरु भुम्लु चौवास आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्