ग्याल्मोलाई राष्ट्रिय संगीत पुरस्कार

हार्मोनीलाई युवा पुरस्कार



हेटौंडा, (नेस) । भीम विराग कला, संगीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले भारतको दार्जलिङ निवासी गायिका दाबा ग्याल्मोलाई बिजुलीमाया वनश्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार–२०७७ बाट सम्मानित गरेको छ ।प्रतिष्ठानले शनिबार एक कार्यक्रमबीच उनलाई नगद १ लाखसहित संगीत पुरस्कार समर्पण गरेको हो । नेपालको संगीत क्षेत्रमा लामो समय बिताउँदै हालसम्म पनि संगीतसाधनामा सक्रिय जीवनयापन गर्दै आएकी ग्याल्मोलाई सम्मान गरिएको हो ।
उनले दर्जनौं गीत गाएकी छन् ।

सन् १९५४ मा भारतको दार्जलिङमा जन्मिएकी ग्याल्मोका दर्जनौं गीत लोकप्रिय छन् । सानैदेखि सांगीतिक यात्रामा समर्पित उनले नेपाली गीतगायनमा उल्लेखनीय योगदान पु¥याएकी छन् ।शहरभित्र केको हल्ला, फूलको डालीडाली, किनकिन उदास, आँखाभित्र जस्ता चर्चित गीतकी गायिका हुन् ग्याल्मो । ग्याल्मो विद्यालय र क्याम्पसमा गीत गाउँदै सांगीतिक यात्रामा अगाडि बढेकी हुन् । उनी सन् १९७० मा कक्षा–१० मा पढ्दै गर्दा नेपालका तत्कालीन राजा महेन्द्रको जन्मदिवसमा दार्जलिङबाट छनौटमा परी पहिलोपटक नेपालमा आएर प्रस्तुति दिएकी थिइन् ।उनले कर्म योञ्जन, गोपाल योञ्जन, अम्बर गुरुङ, वसन्त क्षेत्री, बद्रीदुर्गा खरेल, मणिकलाल क्षेत्री, दिव्य खालिङ, शान्ति ठटाल, जितेन बर्देवा, राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत संगीतस्रष्टासँग काम गरिसकेकी छन् ।

प्रतिष्ठानले हरेक वर्ष नेपाली साहित्य तथा संगीतमा योगदान पु¥याउने राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरका कलाकारलाई एक लाख रुपियाँ राशिको पुरस्कार प्रदान गर्दै आएको छ । २०६४ सालमा हेटौंडाका कुशल व्यबसायी, संगीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नामबाट ‘बिजुलीमाया वनश्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना गरी प्रतिष्ठानको व्यबस्थापनमा समर्पण गर्दै आएका छन् ।प्रतिष्ठानले राष्ट्रियस्तरमा संगीत साधनामार्फत् योगदान दि“दै आएकालाई २०६४ देखि सम्मान गर्दै आएको छ ।

प्रतिष्ठानले यसअघि संगीतकार अम्बर गुरुङ, गायक तथा संगीतकारहरु प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमानराज भण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन र चेतन कार्कीलाई सम्मानित गरिसकेको छ ।विशेष सांगीतिक कार्यक्रमसाथ १२ औं संस्करणका रुपमा सोही समारोहमा प्रतिष्ठानले पहिलोपटक २० हजार राशिको भीम विराग संगीत युवा पुरस्कार–२०७७ दक्षिण एसियाकै महिलाको पहिलो सांगीतिक समूह हार्मोनी महिला गायन समूह पोखरालाई प्रदान गरेको छ । नेपाली सुगम संगीत तथा महिला गायन संरक्षण, सम्वद्र्धन र प्रशिक्षणसँगै प्रवद्र्धन गर्ने उद्धेश्यसाथ स्थापना गरिएको हार्मोनी पोखरा एसियाकै पहिलो महिलाद्वारा सञ्चालित संगीत संस्था हो ।

पोखराका सुगम संगीतमा क्रियाशील महिलाले खालेका एक उदाहरणीय संस्था हो, हार्मोनी । संस्थाले सुगम संगीत गाइरहेका महिलालाई संगठित गर्ने काम गर्दछ । २०७३ सालमा खुलेको संस्थाले सुगम संगीत क्षेत्रमा लागेका महिलाको अनुभव साट्ने र क्षमता विकास तथा मञ्च आफैं निर्माण गर्ने गरेको छ । सुगम संगीत सम्बन्धि स्टुडियो प्रायः काठमाडौंमै रहेको समयमा गायिकाहरु पनि बढी काठमाडौंकेन्द्रित भएको र मोसफलबाट उठ्न संघर्ष बढी गर्नुपर्ने भन्दै हार्मोनी समूह बनाइएको हो । सुगम संगीतमा गीत गाइरहेका, चलेकादेखि नयाँ पुस्तासम्मका १३ जनाबाट सुरु गरिएको समूहमा हाल ३० जना सदस्य बनेको हार्मोनी समूहले बताएको छ ।

२०२६ सालदेखि हेटौंडामा बसेर साहित्य, संगीत, कला र पत्रकारितामा क्रियाशील विरागका नाममा हेटौंडामा भीम विराग साहित्य, संगीत, कला प्रतिष्ठान स्थापना भएर क्रियाशील छ । १९९१ मा बीरगञ्जको माइस्थानमा जन्मिएका विरागका बाबुआमाले राखिदिएको नाम भीमबहादुर महर्जन हो ।स्वरसम्राट नारायण गोपाल, मधु क्षेत्री, रामकृष्ण ढकाललगायतले गाएका थुप्रै कालजयी गीत भीम विरागका शव्द र संगीतमा छन् । आजभोलि हरेक साँझ मात्तिन थालेछ, तिमीले पनि म जस्तै माया दिएर हेरलगायत गीतका स्रष्टा विरागका २०२५ सालदेखि २०५९ सम्म विभिन्न कृति प्रकाशित छन् ।

पछिल्लो पटक उनको महाकाव्य मोहभंग प्रकाशन भएको छ । दुःखेको इन्द्रेणी, अतृप्त स्पर्श गीतिसंग्रह, तातो सुस्केरा कविता संग्रह, आठटुक्रे बादल कथासंग्रह प्रकाशित छन् । विरागको साहित्ययात्रा २०१५ मा ‘उदय’ पत्रिकामा प्रकाशित कविताबाट भएको हो । २०२३ सालमा नारायणी अञ्चलस्तरीय कविता प्रतियोगितामा प्रथम भएपछि चर्चामा आएका विरागले केही समय नारायणी साप्ताहिक र बिगुल साप्ताहिकको सम्पादक भएर पत्रकारिता पनि गरेका थिए ।प्रतिष्ठानले स्थापनाकालदेखि हालसम्म साहित्य, संगीत, सा“स्कृतिक र कला क्षेत्रमा १० वटा पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्