गोर्खा पल्टन र परदेशीपछि दशैंमाथि रायमाझीको परदेशी–२



संगीतकार नारायण रायमाझीले परदेशीको सफलतापछि निर्देशन गरेको त्यसैको सिक्वेल फिल्म परदेशी–२ आगामी २०७८ सालको दशैंमा रिलिज हुने भएको छ। फिल्मको छायांकन सकिएस“गै निर्माण टिमले आगामी वर्षको दशैंलाई रिलिज डेट पक्का गरेको हो।

फिल्मका निर्माता राजेश वंशलले लकडाउनअघि र पछि गरी ५० दिन लगाएर फिल्मको छायांकन गरिएको जानकारी गराए। निर्माता वंशलले छायांकन सकिएको र परिस्थिति सामान्यतर्फ फर्किंदै गरेकाले रिलिज गरिएको बताए। ‘दशैंमा प्रदर्शन गर्ने सोचका साथ फिल्मको छायांकन शुरु गरेका थियौं, तर कोरोना महामारीका कारण सम्भव भएन।

अब आगामी वर्ष दशैंमा प्रदर्शन गर्छौं।’ –उनले भने। अमेरिका र भारतका विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौंजस्ता स्थानमा छायांकन गरिएको फिल्मको कथा दशैंको परिवेशसँग जोडिएकाले प्रदर्शनका लागि दशैंलाई नै रोज्नुपरेको निर्देशक नारायण रायमाझीले बताए। उनले फिल्मको विषयवस्तुले दर्शकको मन छुने बताए। ‘हामीले यसपटक अध्ययनका लागि बिदेसिने नेपाली विद्यार्थीको विषयवस्तुलाई केन्द्रमा राखेका छौं। जुन विषयवस्तुलाई दर्शकले रुचाउनुहुनेछु।’ –निर्देशक रायमाझी भन्छन्।

नारायण इन्टरनेसनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्तरूपमा निर्माण गरेको फिल्मको कथा गीतकार रमेश विजीले तयार पारेका छन्। फिल्ममा दिलीप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देवेन्द्र बब्लुलगायतका कलाकारले अभिनय गरेका छन्। लोकगायक प्रकाश सपुतले यसै फिल्ममार्फत अभिनेताका रुपमा डेब्यु गरेका छन्।

गोर्खा पल्टन र परदेशीजस्ता सुपरहिट फिल्म दिएका निर्देशक रायमाझी र निर्माता वंशलको परदेशी–२ तेस्रो फिल्म हो। फिल्ममा गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, बिबि अनुरागीको संगीत, अष्ट महर्जनको द्वन्द्व, श्यामश्वेत रसाइलीको ध्वनि मिश्रण, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्