१ हजार ८२ जनाले लगाए खोप



नेपाल समाचारपत्र, बैतडी ।

कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान सुदूरपश्चिम प्रदेशमा पनि शुरु भएको छ । बुधबार पहिलो दिन करिब १ हजार १ सय जनालाई खोप लगाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीका अनुसार बाजुराबाहेकका अन्य प्रदेशका सबै जिल्लामा गरेर पहिलो दिन १ हजार ८२ जनाले खोप लगाएका हुन् ।

जसमा सबैभन्दा बढी कैलाली जिल्लामा २ सय ५७ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ । यस्तै अछाममा २ सय ३६, डोटीमा १ सय ५६, कञ्चनपुरमा १ सय २४, डडेल्धुरामा १ सय २२, बैतडीमा ७८, बझाङमा ५९ र दार्चुलामा ५० जनालाई खोप दिइएको निर्देशक डाक्टर अवस्थीको भनाइ छ ।

बाजुरामा भने खोप नपुगेको बिहीबारदेखि मात्रै खोप लगाउन शुभारम्भ गरिने निर्देशक डाक्टर अवस्थीले बताउनुभयो । सदरमुकामसम्म यातायात सञ्चालनमा नरहेकाले मान्छेले बोकेर लैजाँदा खोप पुग्न ढिला भएको उहाँ बताउनुहुन्छ ।
सुदूरपश्चिम प्रदेशमा निर्देशक डाक्टर अवस्थी पहिलो खोप लगाउन व्यक्तिसमेत आफैं रहनुभएको थियो । त्यसअधि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खोप अभियानको उद्घाटन गर्नुभएको थियो ।

कोरोनाविरुद्धको खोपले अन्य कुनै पनि किसिमको असर नपर्ने भएकाले ढुक्कसँग खोप लगाउन उहाँले आग्रह गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशमा १० वटा खोप केन्द्र तोकिएका छन् । कैलालीमा सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पताल तथा अन्य जिल्लाका सबै अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

भारतले अनुदानमा उपलब्ध गराएका खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई लगाइने प्रदेश सरकारले जनाएको छ । संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना विरुद्धको ३६ हजार डोज खोप धनगढी पठाएको थियो ।

आइतबार संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेरेटर भ्यानमार्फत प्रदेशका १६ हजार २ सय ९३ जनालाई लगाउन मिल्ने गरी कोरोनाविरुद्धको खोप पठाएको थियो । सुदूरपश्चिममा पहिलोचरणको खोप अभियान माघ २८ सम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्