५७ हस्ताक्षरकर्ता प्रमोदसँगको करारमा के सम्बन्ध राख्दछन् !



५७ जना गायकगायिका तथा संगीतकारको हस्ताक्षरयुक्त उजुरीको दबाबमा पक्राउ गरिएकी विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेसनकी अध्यक्ष लीना रेग्मी शर्मा २ लाख ७५ हजार रुपियाँ धरौटीमा रिहा भएकी छिन्। गायक प्रमोद खरेलसँगको विवादमा ५६ जना संगीतकर्मीले हस्ताक्षर गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको थियो।

गायक खरेलले आफ्नै लगानी र कपिराइट रहेको प्रणय एल्बम विन्ध्यवासिनी म्युजिकलाई ५ वर्षका लागि दिएको र नियमअनुसार फिर्ता माग्दा नदिएर प्रतिलिपी अधिकारको हनन गरेको आरोप लगाउँदै विन्ध्यवासिनीका सञ्चालकहरुविरुद्ध उजुरी दिएका थिए।

उनले गालीगलौज गरेको पनि निवेदनमा उल्लेख गरेका थिए भने अन्य ५६ जना संगीतकर्मीलाई समेत निवेदनमा हस्ताक्षर गराएका थिए। सरकारी वकिल कार्यालय र प्रहरीको अनुसन्धान तथा बयानपछि धरौटीमा रिहा भएकी लीनाले हुल बाँधेर र हस्ताक्षर जोडेर ल्याउँदैमा कुनै व्यक्तिमाथि फौजदारी कसूर हुन नहुने जनाएकी छिन्।

‘कानुन झुन्ड÷समूहले प्रभावित हुँदैन, यो सबै नागरिकलाई समान हुन्छ। कारोबार प्रतिलिपि अधिकारसँग जोडिएको, गायकले ध्वनि अंकन उत्पादक कम्पनीको अधिकार छिन्ने प्रयास गरेको, करारको उल्लंघन पनि स्वयं गायकले नै गरेको, प्रतिलिपि अधिकार ऐनले दिएको (गायक) प्रस्तोताको अधिकार सुरक्षित गर्दै गर्दा ध्वनि अंकन उत्पादक कम्पनीको अधिकारलाई पनि सुरक्षित गर्नै पर्छ, कानुनले सबैलाई समान न्याय दिनुपर्छ। हुल बाँधेर र हस्ताक्षर जोडेर ल्याउँदैमा कुनै व्यक्तिमाथि फौजदारी कसूर हुनुहुँदैन।

कुनै आम्दानी र हरहिसाब भए दुई पक्ष बसेर विन्ध्यवासिनी म्युजिककै कार्यालयमा गर्दा हुन्छ। करोडौंको कारोबार नभएर, एक÷दुई लाखको कारोबार रहेको, त्यो पनि करारबमोजिम गायकले आफ्नो  रोयल्टी आम्दानीबाट उल्टै तिर्न पर्ने हिसाब आउने देखेर ११ वर्षसम्म सम्पर्क गर्न नआएका हुन्।

तसर्थ कानुनबमोजिम उनलाई कुनै पनि प्रकारको क्षतिपूर्ति, जरिवाना तिर्न पर्दैन, परेमा तिरौंला भनेर सम्मानित अदालतमा प्रणय एल्बमको जम्मा आम्दानी २ लाख ७५ हजार धरौटी पनि राखेका छौं’, विज्ञप्तिमा लीनाले प्रश्न गरेकी छिन्– ‘५७ जना हस्ताक्षरकर्ता गायक प्रमोद खरेल र विन्ध्यवासिनीको करारका विषयमा के सम्बन्ध राख्दछन्? उनीहरूको लेन–देन के छ? कता छ? कहाँ उल्लेख छ?’

प्रतिलिपि अधिकार ऐनले ध्वनि अंकन उत्पादकहरूको अधिकार ५० वर्षसम्म कायम गरेको उल्लेख गर्दै लीनाले विज्ञप्तिमा भनेकी छिन्– ‘त्यस कारण विन्ध्यवासिनी म्युजिक प्रालिले  आफ्ना ध्वनि अंकन उत्पादन गीत, संगीत, भिडियो÷अडियो÷सिडी क्यासेट सबै ५० वर्षसम्म निर्बाधरूपमा बिक्री–वितरण गर्न पाउँछ। यो ऐनले दिएको अधिकार हो।’

‘गायकको हैसियतमा करारमा हस्ताक्षर गरेका प्रस्तोता प्रमोद खरेल प्रतिलिपि अधिकार ऐनअनुसार प्रतिलिपि अधिकार धनी होइनन्। गीतकार संगीतकारको गीतसँग सम्बन्धित कुनै विवाद भएमा आफैँ सुल्झाउनेछु भनेर प्रतिलिपि अधिकार धनी मानेर करार ऐनअनुसार एग्रिमेन्ट भएको हो। ऐनबमोजिम प्रस्तोता स्वयं प्रतिलिपि अधिकार धनी हुन सक्दैनन्।

प्रस्तोता भन्नाले गायक मात्र होइनन्। ऐनले प्रस्तोताको परिभाषा व्यापक गरेको छ। ऐनले दिएको समान हैसियतको अधिकारमध्ये ध्वनिअंकन उत्पादक (लगानीकर्ता) को हैसियत अस्वीकार गर्ने कथित अभियन्ताहरूको षड्यन्त्रमा विन्ध्यवासिनी म्युजिक प्रालिलाई फसाउने फट्याइँको विषय सबैलाई विदित भयो।

बौद्धिक सम्पत्तिमाथिको प्रतिलिपि अधिकार धनी गायक प्रमोद खरेल होइनन्, त्यस कारण यहाँ गायकको बौद्धिक सम्पत्ति हनन भएको छैन। यो हाम्रो स्पष्ट अडान र अवधारणा हो’, उनको भनाइ छ– ‘लगानीकर्तालाई हतोत्साही गर्ने र ध्वनिअंकन उत्पादकहरूको अधिकार छिनेर, थर्काएर, लुटेर, दुःख दिएर, धम्काएर लिने खोज्ने सामूहिक दुस्प्रयासको विरुद्ध कानुनी उपचार खोज्नुबाहेक अर्को विकल्प पनि छैन।

करारको सर्तबमोजिम गायक प्रमोद खरेल र उत्पादक विन्ध्यवासिनी बीचको सम्झौता अवधि ५ वर्षको हुनेछ भनी उल्लेख छ। सम्झौता अवधि सकिएपछि गायक प्रमोद खरेललाई गीत फिर्ता गर्ने भन्ने लेखिएकै छैन। यो त ऐनबमोजिम ५० वर्षसम्म दुवै पक्षले प्रतिलिपि अधिकार ऐनले तोकेबमोजिमको भोगचलन, बिक्री–वितरण गर्न पाउने र दुवै पक्षले ऐनले गरेको व्यवस्थाअनुसार गर्ने हो।

बरु गायकले ध्वनिअंकन उत्पादन र लगानीकर्ता विन्ध्यवासिनी म्युजिक प्रालिको अनुमतिबिना ट्रयाक प्रयोग गरी विभिन्न ठाउँहरूमा प्रस्तुति दिई लाखौं आर्जन गर्दै हिँडेर उल्टो गीतकार र संगीतकारहरूको प्रतिलिपि अधिकारको हनन गरेका छन्।’ प्रमोदको निवेदनमा हस्ताक्षर गर्नेमध्येका एक गायक आनन्द कार्कीले प्रमोदले विन्ध्यवासिनीले हिसाबकिताब नदिएको र गालीगलौच गरेका कारण सहयोग गर्न घरमै आएर आग्रह गरेपछि तथा अरूले गरेको देखेपछि आफूले पनि हस्ताक्षर गरेका बताएका छन्।

‘प्रमोद भाइले घरमै आएर रिक्वेस्ट गरेपछि र अरूले हस्ताक्षर गरेको देखेपछि मैले पनि हस्ताक्षर गरेको हुँ’, गायक कार्कीले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भने– ‘प्रमोदले यस्तै भयो भने आफ्नो  ट्रयाकमा गीत गाउन पनि पाइन्न भने।आफ्नै ट्रयाकमा आफ्नै गीत पनि गाउन नपाइने भन्ने त हुँदैन नि, त्यसैले साइन गरेका हुँ।’ गायक राजेशपायल राईले त यसबारेमा फेसबुकमा स्ट्याटस नै लेखेका छन्।

यसअघि विन्ध्यवासिनीका सञ्चालक सुवास रेग्मीले प्रमोदले अनाधिकृतरूपमा आफ्नो कम्पनीका गीतहरु गाउँदै हिँडेको भन्दै १ करोड रुपियाँ बिगो दाबी गर्दै प्रतिलिपि रजिस्ट्रार कार्यालयमा उजुरी गरेका थिए। प्रतिलिपि रजिस्ट्रारले उनको उजुरीलाई प्रहरीकहाँ पठाएको थियो। त्यसपश्चात् प्रमोदले अन्य ५६ जनाको हस्ताक्षर संकलन गरी जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्