संसद् विघटनविरुद्ध विराटनगरमा सिट्टी जुलुस



नेपाल समाचारपत्र, विराटनगर ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा विराटनगर महानगर कमिटीले सिट्टी जुलुस निकालेको छ । कमिटीले मंगलबार विराटनगरको जनआन्दोेलन चोकदेखि सिठ्ठी जुलुुस निकालेको हो । पार्टीका नेता, कार्यकर्ता तथा विद्यार्थीहरुको सहभागितामा निकालिएको जुलुस विराटनगर बजार परिक्रमा गर्दै जलजला चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्नुहुँदै नेकपा मोरङ जिल्ला सचिवालय सदस्य ओसिम आलमले सत्ताका नाममा गलत निर्णय गर्नेले महाअभियोगका लागि तयार हुनुपर्ने बताउनुभयो । उहाँले सत्ताको नाममा मुलुकलाई प्रतिगमनतर्फ डो-याउने प्रधानमन्त्री ओलीको आदेशको पालना भयो भने भोलिका दिनको सबैको हिसाब हुने चेतावनीसमेत दिनुभयो ।

संसद् विघटनविरुद्ध पछिल्लो समय देशव्यापीरूपमा भइरहेको संघर्षलाई निरन्तरता दिँदै नेकपा प्रदेश कमिटीले आगामी माघ १६ गते विराटनगरमा पनि विशाल जनप्रदर्शनको आयोजना गरेको नेकपा नेता पारुल क्षेत्रीले जानकारी दिनुभयो । प्रदर्शनमा ५० हजार कार्यकर्ता ओराल्ने कमिटीको तयारी रहेको उहाँको भनाइ छ । प्रदर्शनलाई भने नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्नुहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्