प्रचण्ड–नेपाल समूहको आन्दोलन शुरु

सरकारलाई प्रचण्ड–नेपालको चेतावनी



काठमाडौं, (नेस)

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको नेकपा प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरेको छ । घोषित तेस्रो चरणको आन्दोलनअन्तर्गत प्रचण्ड नेपाल समूहले मंगलबार सिठी जुलुस निकालेको हो । राजधानीको लैनचौरबाट निस्किएको जुलुस असन, इन्द्रचोक हुँदै वसन्तपुर पुगेर समापन भएको थियो । प्रचण्ड–नेपाल समूहले माघ २८ मा फेरि अर्को जनप्रदर्शन गर्ने घोषणा गरेको छ । यसअघि माघ ९ मा पनि यो समूहको राजधानीमा जनप्रदर्शन भएको थियो ।

तेस्रो चरणको आन्दोलनअन्तर्गत राजधानीबाहिरका बुटवल, विराटनगर र धनगढीमा पनि प्रदर्शन आयोजना गरिएको छ । राजधानी उपत्यकाभित्र सांसदहरुको धर्ना, माघ १६ को शहीद दिवसमा श्रद्धाञ्जली सभा पनि राखिएको छ ।

त्यसैगरी राजधानीमा सोमबार नागरिक समाजले गरेको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सरकारको कदमप्रति विरोध जनाएका छन् । संविधान र लोकतन्त्रको रक्षाका लागि सचेत नागरिक आन्दोलनले गरेको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै प्रचण्ड नेपालले विरोध जनाएका हुन् ।

अध्यक्षद्वय प्रचण्ड नेपालले विज्ञप्ति जारी गर्दै नागरिक समाजले काठमाडौंमा गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले क्रूरतापूर्वक हमला गर्नु निन्दनीय र खेदजनक भएको बताउनुभएको छ । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा त्यस्ता कार्यक्रममा दमन र हस्तक्षेप नगर्न प्रचण्ड नेपालले सरकारलाई चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्