प्रतिनिधिसभा विघटन प्रकरण : कांग्रेसद्वारा थप आन्दोलनको घोषणा



काठमाडौं, (नेस)

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरुपमा संसद् विघटन गरेको भन्दै कांग्रेसले तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । कांग्रेसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रम तय गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भंग गर्ने निर्णयविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो । बैठकअघि बसेको पदाधिकारी बैठकले तयार पारेको आन्दोलनको कार्यक्रमलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको थियो । पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टाछुट्टै छलफलसमेत भएको थियो ।

देउवा तत्कालन आन्दोलनको पक्षमा नभए पनि पार्टीभित्र दबाब बढ्दै गएपछि आन्दोलनको कार्यक्रम घोषणा गर्न राजी हुनुभएको बताइएको छ । संसद् विघटनविरुद्ध कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सशक्त आन्दोलन अगाडि बढाउनुपर्ने पक्षमा उभिएको छ । कांग्रेसले यसअघि ओलीको कदमविरुद्ध पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिकास्तरीय र माघ ८ गते वडास्तरीय विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

बैठकले संसद् विघटनविरुद्ध नागरिकहरुले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको घटनालाई गम्भीररुपमा लिएको बताएको छ । असंवैधानिक कदमविरुद्धको प्रदर्शन संविधानले प्रदान गरेको अधिकार भएको बताउँदै बैठकले शान्तिपूर्ण ढंगले गरिएको प्रदर्शनमा लाठी चार्ज, अश्रुग्यास तथा पानीको फोहरा प्रहार गर्ने सरकारको कदमको भत्र्सना गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय सार्वजनिकरुपमा व्यक्त गरिरहनुभएका अभिव्यक्तिहरुप्रति पार्टीको ध्यानाकर्षण भएको बताउँदै उहाँले संसद् विघटनको विरोध गर्नेहरु देशविरोधी हुन् भन्ने ओलीको अभिव्यक्ति अत्यन्तै अनुचित र अलोकतान्त्रिक भएको बताउनुभयो । ‘सर्वोच्च अदालतमा जारी बहसलाई तमासाको संज्ञा, वरिष्ठ अधिवक्ताको अपमान, आलोचक पत्रकारहरुप्रति अशोभनीय टिप्पणी अनि आफूसँग अहसमत सबै थरीप्रति उहाँको तिक्त टिप्पणीले प्रधानमन्त्री पदको गरिमा राख्न ओली असफल भएको बैठकको निष्कर्ष छ।’ –प्रवक्ता शर्माले भन्नुभयो ।

बैठकले पार्टी आबद्ध भ्रातृ संघहरु नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनाका लागि थप गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्