निर्वाचन तयारीका लागि सहयोग गर्न आग्रह



नेपाल समाचारपत्र, काठमाडौं ।

निर्वाचन आयोगले वैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचनको तयारीका सम्बन्धमा आवश्यक सहयोगका लागि सरकारलाई आग्रह गरेको छ ।
आयोगले विभिन्न विषय क्षेत्रमा आवश्यक सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरेको सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

निर्वाचनको तयारीदेखि मतदानको दिनसम्ममा आवश्यक पर्ने जनशक्ति, कार्यक्रम र भौतिक पूर्वाधार र व्यवस्थापकीय सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको हो । निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाममा र निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम वा सम्बन्धित निर्वाचन क्षेत्रको उपयुक्त स्थानमा स्थापना गरी निर्वाचनसम्बन्धी सम्पूर्ण क्रियाकलापहरु व्यवस्थापन गर्ने सम्बन्धमा सो आग्रह गरिएको हो ।

त्यसै गरी मतदानस्थलहरूको संरक्षण, मर्मत सम्भार एवं मतदानस्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवतजावतको वैकल्पिक मार्ग, सडक, पुल–पुलेसा, कम्पाउन्ड वाल, तारबार आदिलगायतको प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । निर्वाचन व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तह र शैक्षिक संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीको विवरण अद्यावधिक गरी निर्वाचन प्रयोजनका लागि माग गरेको बखत तुरुन्त उपलब्ध गराउने व्यवस्था गरिदिन आग्रह गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । त्यसै गरी आयोगले निर्वाचनका लागि सघाउन स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।

मतदाता अद्यावधिक कार्यक्रम, मतदानस्थल पुनरावलोकन कार्यक्रम, मनोनयनपत्र दर्ता, निर्वाचन चिह्न वितरण, निर्वाचन प्रचार–प्रसार, परिचयपत्र वितरण, मतदान, मतगणना र परिणाम घोषणालगायतका कार्यक्रमहरू स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सावधानीपूर्वक कार्यक्रम गर्न सो आग्रह गरिएको हो ।

 यसैबीच आयोगले आगामी माघ १५ गतेदेखि देशैभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । देशभरका ७ सय ५३ वटै स्थानीय तहका वडामा सो कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ । कार्यक्रमअन्तर्गत मतदाता नामावली प्रकाशित गर्ने, कुनै मतदाताको नाम र विवरण त्रुटि भएमा सच्याउनका लागि निवदेन दिने, झुटा विवरण दिएर मतदाता नामावली सिफारिस गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नामावली हटाउने, मृत्यु भएको वा नागरिकता त्याग गरेको वा रद्द गरेका व्यक्तिहरुको नाम मतदाता नामावलीबाट हटाउने क्रियाकलापहरु हुनेछ ।

आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्