महाधिवेशन अस्तव्यस्त बनेको बताउँदै नेविसंघका सदस्यद्वारा नेताहरुलाई घेराउ



न्युज अफ नेपाल, काठमाडौँ ।

लामो समयदेखि महाधिवेशन नभएर अस्तव्यस्त बनेको नेपाल विद्यार्थी संघको एक समूहका सदस्यहरुले सानेपास्थित कांग्रेस मुख्यालयमा नेताहरुलाई घेरा हालेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ५३ वर्षीय राजीव ढुंगानालाई नेविसंघको नेतृत्व जिम्मा लगाएपछि संगठन झनै अस्तव्यस्त भएको बताउँदै उनीहरुले आज केन्द्रीय समिति बैठकका लागि पुगेका नेताहरुलाई घेराबन्दी गरेका हुन् ।

विधानसम्मत नेविसंघ चलाइँदा कांग्रेसलाई नै फाइदा हुने बताउँदै पूर्व केन्द्रिय सदस्य नवराज त्रीपाठीको नेतृवमा करिब ५० जनाको समूहले सानेपा पुगेर नेताहरुलाई घेरा हालेका हुन् । नेविसंघका विद्यार्थीहरुले सानेपाको मूल ढोकामै बसेर विभिन्न प्लेकार्डसहित धर्ना दिएका थिए।

संविधान मिचेको भनेर कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई औँलो ठड्याउँदै गर्दा आफ्नो भातृ संगठनका विद्यार्थीहरुले नेताहरुलाई सानेपामै घेरेका हुन्। ‘विधि विधानको धज्जी उडाएर ५३ वर्षीय राजीव ढुंगानालाई नेविसंघको अध्यक्ष बनाएर केही पनि प्रगति भएनु, नेता मनिस सिम्खडाले भने, ढुंगाना आउनुअघि नै २२ वटा जिल्ला अधिवेशन भएका थिए। उनी आएपछि थप एउटा जिल्लाको पनि अधिवेशन हुन सकेन । क्याम्पस इकाइहरुको अवस्था उस्तै लथालिङ्ग छ’, धर्नामा सहभागीले बताए ।

धर्नामा सहभागीहरुले राजीवले कांग्रेस नेताको घर मात्रै ढुक्ने काम गरेको आरोप लगाए। उनीहरुले ढुंगानाले एक वर्षभित्र महाधिवेशन गर्नुपर्नेमा जिल्लाको एउटै अधिवेशन नगरेको र बिधानको धज्जी उडाएको गुनासो गरेका छन्।

यो समूहले नेविसंघमा विधि विधान लागु हुनुपर्ने र महाधिवेशन गर्नुपर्ने बताउँदै यसअघि पनि रिले अनशन र धर्ना दिँदै आएका थिए। नेता त्रिपाठी भोक हड्तालमा पनि बसेका थिए।

प्रतिक्रिया दिनुहोस्