कोभिडविरुद्ध खोप लगाउन तयारी पुरा



मोतीराम तिमल्सिना, काभ्रे । 

कोभिड १९ विरुद्धको खोप देशभर एकै पटक लगाउने सरकारको घोषणा अनुरुप काभ्रेपलाञ्चोक जिल्लामा तयारी पुरा भएको छ । मंगलबार दिउसै प्रहरी स्कर्टिङ्गमा खोप धुलिखेल अस्पताल ल्याईएको छ । धुलिखेल अस्पतालमा बुधबार विहान १० बजे स्वास्थ्यकर्मीहरु मार्फत खोपको शुरुवात गरिनेछ ।

‘कोभिड १९ विरुद्धको खोप लगाउने ब्यक्तिहरुको नमावली तयार गरी उनिहरुलाई लगाउने दिन र समय तोकिएको छ’–जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘खोप लगाउने स्थान, खोप लगाउने खोप प्रदायकहरुलाई प्रशिक्षण र खोप लगाई सके पछिको तयारीका बारेमा सम्पूर्ण तयारी पुरा गरेका छौं ।’ धुलिखेल अस्पतालमा एकै दिन ८ सय ब्यक्तिहरुलाई खोप लगाउन सक्ने गरी तयारी गरिएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेवीका, एम्बुलेन्स चालक तथा अस्पतालमा कार्यरत सुरक्षागार्ड, शव ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई लगाईनेछ । जिल्लामा ३ हजार ५ सय ८१ जनालाई पहिलो चरणको खोप लगाईने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । धुलिखेल अस्पतालको अलावा जिल्लाको मेथिन्कोट अस्पतालमा खोप लगाउने ब्यवस्था गरिएको छ ।

जिल्लामा सरकारी तहका स्वास्थ्यकर्माी ७ सय ४९, नीजि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी १ हजार ३ सय ६८, महिला स्वंसेवीका ९ सय ५५ जना, सरसफाईकर्मी १ सय ११ जना, एम्बुलेन्स चालक ४४ जना र शव ब्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालमा खटिने सुरक्षागार्ड गरी १ सय २६ जनालाई खोप लगाउने गरी सूचिकृत गरिएको संकट ब्यवस्थापन केन्द्रका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

खोप लगाउनु पुर्व स्वास्थ्य कार्यालय काभ्रेले धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, मेथिन्कोट अस्पतालका स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने तरिकाका बारेमा प्रशिक्षण दिएको छ । स्वास्थ्यकर्मी तथा खोप प्रदायकहरुलाई मंगलबार धुलिखेलमा तालिम प्रदान गरिएको हो । सोहि क्रममा खोप प्रदायकहरुले कस्तो अवस्थामा खोप नलगाउने, कस्तो अवस्थामा लगाउने भन्ने विषयमा जानकारी लिएका थिए । नियमित खोप वा औषधीका कारण एलर्जी, गर्भवती वा बच्चालाई दुध चुसाउने आमाहरुलाई उक्त खोप लगाउन नमिल्ने डा. सुमन ताम्राकारले बताउनु भयो । यो खोप देब्रे पाखुरामा लगाईएको छ । खोप प्रदायकहरुलाई राम्रो प्रशिक्षण भए पछि निर्धक्क खोप लगाउने र खोप लगाउनेहरु पनि ढुक्क हुने बताईएको छ । खोप लगाउन आउनेहरुको परिचयपत्र हेरेर, खोप लगाएको परिचयपत्रमा हस्ताक्षर गराएर, ज्वरो आए नआएको परिक्षण गराएर र शरिरमा कुनै प्रकारका समस्या भए खोप लगाउन नहुने बताईएको छ ।

खोप लगाए पछि आधा घण्टासम्म अस्पतालमै बस्ने ब्यवस्था मिलाईएको छ । खोपबाट हुन सक्ने समस्या आउन नदिन र आई हाले त्यसको तयारीका लागि सबै ब्यवस्थापन गरिएको डा. नरेन्द्रकुमार झाले बताउनु भयो । धुलिखेल अस्पतालले सबै खालको ब्यवस्थापन गरेको डा.सुमन ताम्राकारले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्