नेकपाका दुई समूहबीच शक्ति प्रदर्शनको प्रतिस्पर्धा



नेपाल समाचारपत्र, काठमाडौं ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै विभाजित बनेको नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूह र केपी ओली समूहबीच शक्ति प्रदर्शनको प्रतिस्पर्धा चलेको छ । पार्टी एकता भएको तीन वर्षसम्म कार्यकर्तामाझ नपुगेका नेताहरु एक महिनाको अवधिमा नेताकार्यकर्तालाई आ–आफ्नो समूहमा तान्ने क्रममा लागेका छन् ।

केन्द्रदेखि वडा तहसम्म समानान्तर भेला र सभामा जुटेको नेकपाको दुवै समूहले शक्ति प्रदर्शनलाई नै पहिलो प्राथमिकता दिएका छन् । संसद् विघटन भएलगत्तै प्रचण्ड–नेपाल समूहले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । लगत्तै ओली समूहले पनि प्रचण्ड–नेपाल समूहलाई काउन्टर दिने गरी सभा र भेला गर्दै आएको छ ।

प्रचण्ड–नेपाल समूहले राजधानी काठमाडौंमा दुईपटक शक्ति प्रदर्शन गरेसँगै त्यसलाई काउन्टर दिनका लागि ओली समूहले माघ २३ गते शक्ति प्रदर्शन गर्ने भएको छ । आन्दोलनरत समूहले शक्ति प्रदर्शन गरिरहेको अवस्थामा सरकार पक्षले गर्न थालेको जनसभालाई अर्थपूर्णरुपमा लिइएको छ ।

प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत माघ २८ गते काठमाडौंमा जनप्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ । सोमबार दुवै समूहले पत्रकार सम्मेलन गर्दै सभा र विरोधसभाको कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रचण्ड–नेपाल समूहले नयाँ स्वरुपको धर्ना र देशैभर ठूला विरोधसभाको कार्यक्रम घोषणा गरेको छ । दुई चरणसम्म आन्दोलन गरेको प्रचण्ड–नेपाल समूहले फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने क्रममा १३ देखि २८ माघसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

विरोधका कार्यक्रमअन्तर्गत २८ माघमा काठमाडौंमा विरोध प्रदर्शन र सभा गर्ने घोषणा नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले गरेको छ । संघर्ष समितिका संयोजक श्रेष्ठले विरोधको कार्यक्रमअन्र्तगत सिठ्ठी जुलुसदेखि विरोध प्रदर्शनसम्म रहेको बताउनुभयो ।

प्रचण्ड–नेपाल पक्षले माघ १३ गते सिठ्ठी जुलुस निकाल्ने र १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभा सदस्य, संघीय सांसद तथा प्रदेशसभा सदस्यसहित धर्ना दिने कार्यक्रममा घोषणा गरेको छ । माघ १५ गते बुटलवल, १६ विराटनगर, १७ गते धनगढीमा विरोधसभा गर्ने भएको छ । श्रेष्ठका अनुसार माघ २२ गते काठमाडौंमा युवा ¥याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गरिनेछ ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक श्रेष्ठले निर्वाचन आयोगले लिएको निर्णयको आधारमा आफूहरुले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दाबी गर्नुभयो । निर्वाचन आयोगले कानुनसम्मत निर्णय गर्छ भन्नेमा विश्वस्त रहेको बताउँदै आयोगको पत्र हेरेर आवश्यक निर्णय गर्ने उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा विघटन भएपछि नेकपाका दुवै समूहले आफूहरु आधिकारिक भएको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले नेकपा फुटेको नै नमान्दै दुवैको दाबीलाई अस्वीकार गरिदिएको छ । आयोगको निर्णयले नेकपाको नाम र चुनाव चिह्न सूर्यको विषयले विवाद थप पेचिलो बन्ने भएको छ ।

उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले दुई सर्तमा पार्टी एकता हुन सक्ने बताउनुभएको छ । २३ गते काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले २८ कात्तिकमा दर्ता भएको ‘आरोपपत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुन सक्ने बताउनुभएको हो । नेकपा ओली पक्षले माघ २३ गते काठमाडौंमा गर्ने जनसभा राजनीतिक स्थायित्वका लागि भएको दाबी गरेको छ ।

उपप्रधानमन्त्री पोखरेलले राजनीतिक स्थायित्व, संविधानको रक्षा र संविधानले गरेको व्यवस्थाअनुसार आर्थिक विकासका लागि भएको दाबी गर्नुभयो । प्रचण्ड–माधव पक्षले यसअघि माघ ९ गते गरेको विशाल प्रदर्शनका विरुद्ध जनसभा गर्न लागेको हो भन्ने प्रश्नमा पोखरेलले कसैप्रति लक्षित र काउन्टरमा जनसभा गर्न नलागेको दाबी गर्नुभयो ।

उहाँले निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयलाई सम्मान र सकारात्मकरुपमा लिएको बताउँदै ओली नेतृत्वको नेकपाले राखेको अडान सही छ भन्ने प्रमाणित भएको बताउनुभयो । नेकपालाई चाहेर पनि कसैले फुटाउन सक्दैन भन्ने पुष्टि भएको बताउँदै पोखरेलले प्रचण्ड र माधव नेपाल समूहको काम गलत भएको बताउनुभयो ।

दुई समूहमा विभाजित भएसँगै शुरु भएको समानान्तर भेलाले एक पक्षलाई अर्को पक्षबाट कारबाही गर्ने होडबाजीसमेत चलेको छ । आइतबार मात्र प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै कारबाही गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्