‘विद्यार्थीले चाहेमा सामाजिक परिवर्तन सम्भव छ’



राम धामी, डडेल्धुरा ।

मुलुकमा नेकपाको राजनीतिले तरंग ल्याइरहेका बेला सुदूरपश्चिम प्रदेश सभाका सांसद कर्णबहादुर मल्ल भने कक्षाकोठामा पुगेर पढाइरहनुभएको छ । उहाँ विद्यार्थीसँग सामाजिक विकृति हटाउनका लागि छलफल अन्तक्र्रिया गर्न कक्षाकोठामै पुग्नुभएको हो ।

लामो समयदेखि कोरोना कहरले गर्दा थला परेर बल्लबल्ल पढाइ शुरु भएको डडेल्धुरा सदरमुकाम नजिकैको अमरगढी नगरपालिका–८ स्थित भागेश्वर माध्यमिक विद्यालय टाँटरमा पुगेर सांसद मल्लले विद्यार्थीसँग छलफल तथा अन्तक्र्रिया गर्नुभएको हो ।

कतिपय शिक्षकहरु नै विद्यालय जान हिचकिचाइरहेका बेला राष्ट्रका कर्णाधार मानिने विद्यार्थी वर्गले चाहेमा सामाजिक परिवर्तन अपेक्षितरुपमा चाँडै हुन सक्ने भन्दै सांसद मल्लले समाजमा व्याप्त विकृति र विसंगति हटाउनका लागि विद्यार्थीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने औंल्याउनुभयो ।

‘आफ्ना अभिभावकहरुले अत्यधिक मदिरा सेवन गरेर घरेलु हिंसा गर्दा विद्यार्थीले चुप लागेर बस्नुहुँदैन’, मल्लले भन्नुभयो– ‘छाउपडी कुप्रथा, जातीय विभेद, लैगिंक विभेदजस्ता सामाजिक विकृतिका विरुद्ध आवाज उठाउने र अभिभावकलाई सचेत पार्ने काममा विद्यार्थीले भूमिका निर्वाह गर्नु जरुरी देखिएको छ ।’

विद्यार्थीले घरपरिवारमा सामाजिक विकृतिविरुद्ध जनचेतना अभिवृद्धिका साथै व्यवहार परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउँदै मल्लले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा हुने आपराधिक क्रियाकलापको मुख्य कारण अत्यधिक मदिरा सेवन गर्ने प्रवृत्ति बताउनुभयो । उहाँले मदिरा सेवन गर्ने आफ्ना अभिभावकको बानी सुधार्न विद्यार्थीले एकताबद्धरुपमा अभियान सञ्चालन गर्न सक्ने सुझाव दिनुभयो ।

आइतबार अमरगढी नगरपालिका–७ स्थित उग्रतारा माध्यमिक विद्यालयलाई साइन नेपाल नामक गैरसरकारी संस्थाले हस्तान्तरण गरेका १० थान कम्युटर प्रदान गर्न विद्यालय पुग्नुभएका सांसद मल्लले नजिकै रहेको भागेश्वर माविमा पुगेर विद्यार्थीसँग छलफल अन्तक्र्रिया गर्नुभएको हो ।

सांसद मल्लले कक्षामा पुगेर अन्तक्र्रिया गर्दा धेरै कुरा सिक्ने मौका मिलेको र आफूले सिकेका कुरा सामाजिक परिवर्तनका लागि व्यवहारमा लागू गर्ने विद्यार्थीले बताएका छन् ।

साइन नेपालका अध्यक्ष भक्तराज जोशीले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुमा कम्प्युटर शिक्षाको आवश्यकतालाई मध्यनजर गरेर उग्रतारा माविलाई १० थाल कम्प्युटर हस्तान्तरण गरेको जानकारी दिनुभयो । सो संस्थाले कोरोना महामारीका बेलासमेत सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा राहत वितरणमा सघाएको अध्यक्ष जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्