कार चोरले उपदेश दिएर भागे



विभर्टन/ओरेगन, (एजेन्सी)

अमेरिकामा आफूले चोरेको कारको पछाडिको सिटमा साना बालक देखेर कार फर्काएर उनले बालककी आमालाई बेस्सरी गाली गरेका छन् । ओरेगन प्रहरीका अनुसार बच्चालाई बेवास्ता गर्दै त्यसरी छोडिएकोमा प्रहरीलाई खबर गर्ने धम्कीसमेत दिएका उनी बच्चालाई आमाको जिम्मा दिएर पुनः कार लिएर फरार भएका थिए ।

शनिबार इन्जिन चालू अवस्थामै रहेको कारभित्र आफ्नो चार वर्षीय छोरो छाडेर नाम नखुलाइएका ती महिला करिब १५ फिट टाढाको पसलभित्र सामान किन्न गएकी विभर्टन प्रहरी प्रवक्ता म्याट हेन्डर्सनले जानकारी दिएका छन् । पसलका एक कर्मचारीले केही मिनेटभित्रै उनको कार चोरी भएको बताएका छन् ।

हेन्डर्सनले ती पीडित महिलाले खासै कुनै गल्ती नगरेको छोरोलाई देख्न र उनको आवाज सुन्न सकिने दूरीमै छोडेको बताएका छन् । तर, उनले यस घटनाले अभिभावकहरूलाई आफ्ना सन्तानप्रति थप ध्यान दिनुपर्ने सन्देश भने पक्कै दिएको पनि बताएका छन् । सो कार घटनाको केही घन्टापछि पोर्टल्यान्डमा फेला परेको थियो । करिब २० देखि ३० वर्ष बीचको उमेरको देखिने ती चोरको व्यापक खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्