दुःख धेरै पाइयो, हामीलाई पानी चाहियो



राम धामी, डडेल्धुरा ।

खानेपानीको माग गर्दै डडेल्धुराको सदरमुकामस्थित अमरगढी नगरपालिका आइतबार घेराउ गरिएको छ । सदरमुकामस्थित अमरगढी नगरपालिका–८ का स्थानीय खानेपानीको माग गर्दै आन्दोलित भएका हुन् । सदरमुकामसँगै जोडिएका खनमडा, टाँटर, डकले बजार, तोली सिंलगा, रातागौंन र लटाउलीलगायतका बस्तीमा खानेपानीको चरम अभाव भएको भन्दै सयौंको संख्यामा आएका स्थानीयले पटकपटक खानेपानी योजना माग गर्दा पनि अमरगढी नगरपालिकाबाट समस्या समाधानका लागि कुनै पहल नभएको गुनासो गरेका छन् ।

स्थानीय महिलाको समेत उल्लेख्य सहभागिता रहेको आन्दोलनमा सहभागीले अमरगढी नगरपालिकाले बजार क्षेत्रसँगै जोडिएका बस्तीमा खानेपानीको व्यवस्था गर्न पटकपटक माग गर्दा पनि सुनवाइ नगरेकाले नगरपालिका कार्यालय घेराउ गरिएको बताए ।

‘धेरै दुःख पाइयो, हामीलाई पानी चाहियो, स्थानीय सरकार मुर्दावाद, भ्रष्टाचार बन्द गर, हाम्रो जीवन रक्षा गर’जस्ता चर्का नाराबाजी गरेर प्रदर्शनमा उत्रिएका स्थानीयले कार्यालय घेराउ गरेपछि केहीबेर कार्यालयको सेवा अवरुद्ध भएको छ ।
नाराजुलुससहित गाउँबाट आएका उनीहरुले अमरगढी नगरपालिका कार्यालय घेराउ गरेपश्चात् सदरमुकाममा प्रदर्शनसमेत गरेका छन् ।

अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाको आफ्नै वडा भएर पनि नगर नेतृत्वले समस्या समाधानका लागि कुनै किसिमको पहल नगरेको आन्दोलनको नेतृत्व गरिरहेका स्थानीय अगुवा जगत ऐरले बताउनुभयो । ‘अमरगढी नगरपालिकाको दमकल कतिखेर आउला र खानेपानी भरौंला भनेर दिनभर कुर्नुपर्ने अवस्था छ’, स्थानीय महिला नेतृ बिस्ना गैरालले भन्नुभयो– ‘सदरमुकामसँगै जोडिएका तीन सयभन्दा बढी घरधुरी खानेपानी अभावमा काकाकुल छौं, तर खानेपानी समस्या समाधानका लागि तीनओटै तहका सरकारले माग सम्बोधन नगर्दा बाध्य भएर आन्दोलनमा उत्रिएका हौं ।’

नगरपालिका कार्यालय घेराउपछि आन्दोलनकारीले सात दिनभित्र माग सम्बोधनका लागि अल्टिमेटम दिँदै अमरगढी नगरपालिकालाई ज्ञापनपत्र बुझाएको अमरगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त पन्तले जानकारी दिनुभयो ।

तीनओटै तहका सरकारलाई सम्बोधन गर्दै अमरगढी नगरपालिकालाई पेस गरिएको ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिइएको आन्दोलनमा सहभागी स्थानीय इन्द्र सार्कीले बताउनुभयो ।

‘अमरगढी नगरपालिकालाई स्मार्टसिटी बनाउने नारा दिएर निर्वाचनमा विजय हासिल गरेको नगर नेतृत्वले खानेपानीका लागि कुनै सुनवाइ नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रिएका हौं’, उहाँले भन्नुभयो– ‘एक हप्ताको अल्टिमेटम दिएका छौं, माग सुनवाइ नभएमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छौं ।’

तीनओटै तहका सरकारले माग सुनवाइ नगरेमा राजमार्गमा चक्काजाम गर्ने र बजार बन्द गर्ने किसिमका आन्दोलनका कार्यक्रमहरु तय गरिने आन्दोलनकारी बताउँछन् । हाल राजधानी काठमाडौंमा रहेका अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले स्थानीयको मागअनुसार चालु आर्थिक वर्षमा मुसेपानी खानेपानी योजना मर्मतसम्भारका लागि २५ लाख बजेट विनियोजन भइसकेको र सो खानेपानी योजनाबाट खानेपानी आपूर्ति हुन नसक्ने ४०–५० परिवारका लागि सदरमुकामस्थित खलंगा खानेपानी योजनाबाट खानेपानी आपूर्ति गर्ने सहमति भइसकेको जानकारी दिनुभयो । खानेपानीको हाहाकारमा रहेका स्थानीयलाई हाल अमरगढी नगरपालिकाले दमकलमार्फत खानेपानी आपूर्ति गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्