एफएनसीसीआईमा १३ सदस्यीय पुँजी बजार फोरम गठन



भूपराज बस्याल, काठमाडौ ।

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यमा निर्वाचित अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको १३ सदस्यीय पुँजी बजार फोरमले पुर्णता पाएको छ ।

सल्लाहकार २ जान र २ जना आमन्त्रित सदस्यसहित १३ जनाको कार्यसमिति बनाइएको छ । उक्त समितिको उपसभापतिमा रामशरण थपलिया रहनु भएको छ भने सदस्यहरुमा क्रमशः मेखबहादुर थापा, प्रियराज रेग्मी, सन्तोष मैनाली, निर्माण श्रेष्ठ, ज्योति दाहाल, राजन लम्साल र विष्णुप्रसाद बस्याल रहेका रहनु भएको छ । आमन्त्रित सदस्यहरुमा अनन्तकुमार पौडेल र उषा खतिवडा रहनु भएको छ । सल्लाहकारहरुमा कुमारकेशर बिष्ट र ध्रुर्व तिमिल्सिना रहनु भएको छ ।

पुँजी बजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय गरी अघि बढ्ने सहित कार्यसमितिको पहिलो बैठकले विभिन्न महत्वपूर्ण १० बुँदे निर्णयहरु पनि गरेको छ । यस्तै, पुँजी बजारमा वैदेशिक लगानी भित्रयाउन पहल गर्ने, पुँजी बजारसँग सम्बन्धित ऐन कानुनमा समसामयिक सुधारका लागि सुझाव दिने, लगानीकर्ताहरुलाई आवश्यक तथा भरपर्दो सूचनाहरु उपलब्ध गराउनका लागि आवश्यक काम गर्ने निर्णय पनि गरिएको छ । मर्चेन्ट बैंकिङ तथा ब्रोकरेज व्यवसायको कार्यक्षेत्र विस्तार र संख्या थप गर्नका लागि पहल गर्ने निर्णय समेत गरेको छ ।

सेयर कारोबारमा विद्यमान लाभ कर अन्योलको विषय निराकरण तथा समय सापेक्ष सुधारका लागि पहल गर्ने, वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारमा आकर्षित गरी लगानीका क्षेत्रलाई अझै फराकिलो बनाउन पहल गर्ने निर्णय पनि गरिएको छ । पुँजी बजारमा लगानीका लागि अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेका वैकल्पिक औजारहरु इक्यूटी डेरिभेटिभ, सर्ट सेलिङ, इन्डेक्स फण्ड, इन्डेक्स डेरिभेटिभ लगायतका उपकरण नेपाली बजारमा पनि प्रयोगमा ल्याउनका लागि सक्दो पहल गर्ने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्