विश्व च्याम्पियन नेपाली पावरलिफ्टर कार्कीको निधन



काठमाडौं । भारत्तोलन (पावर लिफ्टिंग) को विश्व च्याम्पियनशिपमा स्वर्ण पदक जित्न सफल नेपाली खेलाडी रुप कार्कीको हृदयघात कारण आज निधन भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ भलवारी बस्दै आएका ५२ वर्षिय कार्कीको बिहीबार हृदयघातका कारण निधन भएको हो । बुटवलमा उपचार असम्भव भएपछि उपचारका लागि काठमाडौं ल्याउने क्रममा कार्कीको बाटोमा नै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपालको खेल इतिहासमा विश्व पावरलिफ्टिंग च्याम्पियनशिपमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी समेत थिए। दुई दशकभन्दा बढी अमेरिका बसाइँपछि कार्की तीन महिनाअघि मात्र नेपाल फर्किएका थिए । नेपालमै भारत्तोलनमा सक्रिय हुन र नयाँ पुस्तालाई भारत्तोलन सिकाएर विश्व च्याम्पियन बनाउने उद्देश्य लिएर उनी नेपाल फर्किएका थिए ।सन् २०१९ को जुलाईमा ५० देखी ५४ बर्ष उमेर समूह र २ सय २० पाउण्ड वजनमा कार्कीले युएसपीएलमा स्वर्ण पदक प्राप्त गर्दै आयरल्याण्डमा सम्पन्न आईपिएल प्रतियोगितामा समेत छनोट भएका थिए ।

पावरलिफ्टर कार्कीले ४४–४९ बर्ष उमेर र २ सय २० पाउण्ड वजन समूहमा सन् २०१७ मा एट्लान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक जितेर नेपालको नाम विश्वभर फैलाउन सफल भएका थिए । उनले कुल १४ सय पाउण्ड उचालेर स्वर्णपदक प्राप्त गरेका थिए । चार दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई उछिनेर उक्त स्वर्ण हात पारेका थिए ।नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी समेत हुन् । उनले अमेरिकास्तरीय प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्णपदक जितेका छन् ।

त्यस्तै, कार्की कृतिम रुपमा शारीरिक बल वृद्धि गर्न औषधि प्रयोग नगर्ने ड्रग टेस्टेड खेलाडी समेत थिए ।सन् २००९ देखि पावरलिफ्टिंग खेलको अभ्यास सुुरु गरेका कार्की सन् २०१२ देखि पुर्णरुपमा भारत्तोलन खेलमा सक्रिय भएका थिए । कार्कीले अमेरिकाबाट नेपाल फर्केपछि बाँकी जीवन भारत्तोलन खेलमा नै बिताउने बताउँदै आएका थिए ।रुपन्देहीमा बसाईं सरेका कार्कीको जन्म भने बागलुङको गल्कोटमा भएको थियो । पावरलिफ्टिंग खेलकै लागि उनले दैनिक ३ देखि ५ घण्टासम्म नियमित ब्यायाम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्