आर्थिक प्रलोभनमा परी घुस लिने ३ प्रहरी निलम्बित



हेटौंडा । आर्थिक प्रलोभनमा परेर आफूलाई दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह नगर्ने तीन प्रहरी निलम्बित भएका छन् ।बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रकम लिँदै गरेको अबस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

चितवनको नारायणगढ, पुल्चोक भएर राजमार्गमा चल्ने बस, मिनीबस, माइक्रोबस व्यबसायीका दलालमार्फत् नारायणगढ, पुल्चोकमा ड्युटीमा खटिएका प्रहरीले पैसा लिने गरेको सूचनाका आधारमा प्रहरी संलग्नताबारे अनुगमन एवम् अनुसन्धान गर्न सम्बन्धित स्थानमा स्थलगतरुपमा खटिएका प्रहरी अधिकृतको टोलीले यातायात व्यबसायीका दलालमार्फत् भरतपुर महानगरपालिका वडा–१, पुल्चोकस्थित कालीगण्डकी कोल्ड स्टोर (पानपसल) बाट अवैध रकम लि“दै गरेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीको नाममा पैसा उठाउने कार्यमा संलग्नलाई नियन्त्रणमा लिएर अभद्र व्यबहारअन्तर्गत् मुद्धामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत् प्रहरी हवल्दार लोकबहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ, चितवनमा कार्यरत् प्रहरी जवान पूर्णसिंह मगरलाई नियन्त्रणमा लिएर प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएकोमा उनीहरुका सम्बन्धमा थप छानबिन गर्न हाललाई निलम्बन गरिएको हो ।

निलम्बित प्रहरीका सम्बन्धमा थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ । आफ्नो ड्युटीमा इमान्दारिता प्रदर्शन गर्ने प्रहरीलाई पुरस्कृत गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई प्रदेश प्रहरीले अभियानका रुपमा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्