आयुर्वेदको पञ्चकर्म विधिले बाथ रोगीलाई राहत



नेपाल समाचारपत्र, डोटी ।

बाथरोगीका लागि दिपायलमा पहिलोपटक पञ्चकर्म विधिबाट उपचार शुरु गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय दिपायलले स्वधन चिकित्सा प्रविधि अर्थात् पञ्चकर्म–पूर्णकर्म विधिद्वारा उपचार गर्न शुरु गरेको हो । अहिले दैनिक २० देखि २५ जना बिरामी आउने आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त उपचार विधि शुरु भएदेखि अहिलेसम्म १ हजारभन्दा बढी नागरिकको उपचार तथा जाँच गरिएको छ ।

‘रकम अभावमा कतिपय बिरामी उपचार नपाएरै घरैमा बस्न र रकम भएका टाढा गएर महँगोमा उपचार गर्न बाध्य थिए, केन्द्रमा निःशुल्क सेवा दिन थालेपछि सहज उपचार हुनुका साथै बिरामीको चाप बढेको छ ।’ –कार्यालयका प्रमुख तथा कविराज विद्या घिमिरे (देउवा) ले बताउनुभयो ।

प्रमुख घिमिरेका अनुसार डोटीमा सबैभन्दा बढी पत्थरी तथा बाथ रोगका बिरामी बढी छन् । पञ्चकर्म–पूर्णकम प्रविधिबाट उपचार गराउँदा आफ्नो बाथरोग क्रमिकरूपमा सुधार हँुदै गएको दिपायलस्थित कठायत टोलकी ७० वर्षीया हीरादेवी कठायतले बताउनुभयो । सोही स्थानका गणेश शाहुले यो विधिबाट उपचार गराउँदा कम्मर, हात खुट्टा तथा ढाड दुःख्ने समस्या निको हुन थालेको बताउनुहुन्छ ।

कविराज देउवाका अनुसार स्वधन चिकित्सा प्रविधि भनेको तेल, विभिन्न जडीबुटी, घ्यू तथा मह पकाएर बाफद्वारा शरीरमा भएको खराब रगत हटाउने प्रविधि हो । यो प्रविधि डोटीमा पहिलोपटक लागू भएको आयुर्वेद हो । वैद्य विक्रम कठायत भन्नुहुन्छ– ‘बाथरोग वंशाणुगत भए पनि नियमितरूपमा उपचार गरे निको हुन्छ, रोग लुकाएर बस्नुभन्दा उपचार गराउनु राम्रो हुन्छ ।’ बाथरोगका बिरामीलाई निको पार्न चार हप्तादेखि एक वर्षसम्म लाग्न सक्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्